कोशी प्रदेशका ताप्लेजुङ र संखुवासभा बाढी पहिरोको ताण्डव

धरान । गत जेठ ३१ गतेदेखि सक्रिय भएको मनसुनसँगै लगातारको बर्षाले कोशी प्रदेशको पहाडी जिल्लाहरु संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाम सबैभन्दा बढी प्रभावित भएका छन् । खाँदबारी नगरपालिका वडा नं. ११ मा पहिरोले सडक पूर्ण रुपमा बगाउँदा उत्तर दक्षिण कोशी राजमार्गको खाँदबारी किमाथांका सडक पूर्ण रुपमा ठप्प भएको छ । त्यसपछि सोही सडक खण्डको मकालु गाउँपालिका वडा नं. ३ स्थित एकुवा खोलाको मोटरेवल पुल एकसाथ आएको बाढी र पहिरोले बगाएको छ । एकुवा खोलाको २० मिटर लामो उक्त पुलको निर्माण कार्य २०७९ सालमा सम्पन्न भएको थियो । चार करोडको लागतमा निर्माण भएको उक्त पुल बाढीले बगाएपछि सदरमुकाम खाँदाबारीसँग भोटखोला र मकालु गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ । खाँदबारीमा बाढी पहिरोमा परेर हालसम्म एकजनाको मृत्यु भएको छ कैयौ घाइते, विस्थापित भएका छन् । करोडौको धनमाल क्षति भएको छ । उता बाढी पहिरोका कारण ताप्लेजुङ जिल्लाको सुभाङखोला ओलाङचुङगोला किमाथांका सडक पूर्णरुपमा अवरुद्ध भएको छ । हालसम्म ताप्लेजुङका विभिन्न स्थानमा गरी ७ जनाको मृत्यु भएको, १० जना बेपत्ता भएको, कैयौ घाइते र विस्थापित भएका छन् । तापेथोकस्थित सिसेवा खोलामा आएको बाढीले काठेपुल बगाउँदा ओलाङचुङगोला, याङ्गमा लगायतका स्थानसँगको सम्बन्ध विच्छेद भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार मृत्यु हुनेमा तीन महिला, दुई पुरुष र बालबालिका छन् । बाढी पहिरोले ६९ चौपाया मरेका छन् । बाढी पहिरोले ताप्ेजुङ जिल्लाको ्रसिरिजंगा गाउँपालिका वडा नं. ७ खेवाङ्गस्थित कावेली थ्रि हाइड्रो पावरमा काम गर्ने फिदिम १४ का २५ बर्षीय सविन राई, फक्तालुङ गाउँपालिका वडा नं. २ का एकै घरका चारजना अन्य दुई जनाको मृत्यु भएको हो ।


जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार सिरिजंगा गाउँपालिका वडा नंं ६ मामांखेका ५ वटा घर उच्च जोखिमा रहेका मध्ये ४ घर परिवारका १५ जनालाई लक्ष्मी मावि मामांखेमा राखिएको, एक घर परिवार ५ जना छिमेकीको आश्रय लिएर बसेको र निजहरुका लागि खाद्यान्न लगायतका आवश्यक सामाग्री गाउँपालिकाले व्यवस्था गरेको छ । यसैगरी जिल्लाको मिक्वाखोला गाउँपालिकाको वडा नंं ५ का ४ घर जोखिममा रहेकोले ३६ जना छिमेकी खड्गबहादुर लिम्बुको घरमा आश्रय लिएर बसेका छन् । उता सदरमुकाम फुङलिङ नगरपालिका वडा नं १० का ६ घर उच्च जोखिममा रहेकोले सुरक्षित स्थानमा तिनका परिवारलाई स्थान्तरण गरिएको छ । यसैगरि सिद्धिङ्गवा गाउँपालिका वडा नं. ४ साब्लाखुका ९ घर जोखिमा रहेको एक घर परिवारका तीन जना छिमेकी कृष्ण लाकान्द्रीको घरमा आश्रय लिएर बसेका छन् भने ७ घर परिवारका ४२ जना साब्लाखुस्थित सिंहेश्वरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन भने ७ घर परिवारका ४२ जना साब्खु स्थित सिहेश्वरी आधारभूत विद्यालयमा आश्रय लिएर बसेका छन् । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यका अनुसार मिक्वा खोला गाउँपालिका वडा नं. ३ मा रहेको माइक्रो हाइड्रोको संरचना बाढीले क्षति पु¥याएको छ । हाल बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य समेत भइरहेको उहाँले बताउनुभयो । उता पाँचथर, इलाम, धनकुटा, तेह्रथुममा समेत बाढी पहिरोले ठूलो क्षति पु¥याएको स्थानीयहरुले बताएका छन् । यी जिल्लामा हालसम्म मानवीय क्षति नभए पनि, घर चौपाया लगायतको क्षति भएको जनाइएको
छ ।

तपाईको प्रतिक्रिया