ओखलढुंगा । करोडौको साबुन विदेशबाट आयात भइरहेका बेला स्वदेशी जडिबुटी प्रयोग गरी सावुन बनाउने तालिमलाई तिब्रता दिइएको छ ।
स्थानीय स्तरमा पाइने तीतेपातीको प्रयोग गरी साबुन बनाउने तालिम पछिल्लो पटक ओखलढुंगाको सुनकोशी गाउँपालिकाले सम्पन्न गरेको छ । असार ५ देखि ९गतेसम्म सञ्चालन भएको तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष कमल तामाङले गर्नुभएको थियो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम अन्तर्गत सुनकोशी गाउँपालिकामार्फत आफ्ना पालिकामा रहेका महिलालाई स्वदेशमै आत्मनिर्भर बनाउन गाउँ घरमा पाइने जडिबुटीको प्रयोग गरी तीतेपातीबाट सावुन बनाउने तालिम दिइएको हो ।

सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष कमल तामाङले स्वदेशी उत्पादनलाई जोड दिन सकेको खण्डमा कसैको मुख ताक्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले गाउँघरमा त्यसै खेर गइरहेको तीतेपातीको प्रयोग गर्दै यहाँ रहेका महिलाहरुलाई आत्मनिर्भर बनाउन र स्वदेशी उत्पादनलाई भरपुर प्रयोग गर्न सकियोस् भन्ने अभिप्रायले तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले करोडौ रुपैयाको सावुन नेपालमा भित्रिदै गएको अवस्थामा नेपालमै सावुन उत्पादन गर्दा महिलाहरु आत्मनिर्भरसँगै रेमिटेन्स बाहिर जानबाट रोकिने बताउनुभयो ।
यस्तै गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीले महिलाहरुलाई लक्षित गरी आयोजना गरिएको सावुन बनाउने तालिम प्रभावकारी भएको बताउनुभयो । उहाँले स्वदेशी उत्पादनलाई जोड दिँदै महिलाहरुलाई आत्मनिर्भर बनाउन यो तालिमले सहयोग गर्ने बताउदै यहाँ सिकेको कुरालाई तालिम लिएर गएका महिलाहरुले भरपुर प्रयोग गर्न सुझाव दिनुभयो । सो अवसरमा सहभागीहरुले समेत सिकेको कुरालाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएका थिए । सुनकोशी गाउँपालिकाको १० वडाको १७ जना महिला तथा पुरुषहरुले तालिम लिएका थिए । उनीहरुलाई सम्बृद्धि सावुन उद्योग धरानकी महिला उद्यमी मनिता घिमिरेले सावुन बनाउने तरिकाका विषयमा सिकाउनुभएको थियो । प्रशिक्षक घिमिरेले सिकेका कुरालाई व्यावहारमा उतारेर आत्मनिर्भर बन्न तालिममा सहभागी महिलालाई अनुरोध समेत गर्नुभयो । उहाँले बजारीकरणमा सहजीकरण गर्ने, सामाग्रीहरुको सहयोग चाहेमा उपलब्ध गराइदिने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा सुनकोशी गाउँपालिकाका १० वटै वडाका वडाध्यक्ष, गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार कार्की, सुनकोशी प्रहरी चौकीका प्रमुख लगायतको उपस्थिति रहेको थियो । यस भन्दा अगाडि इलाम नगरपालिकाले पनि यस्तै प्रकारको तालिमको आयोजना गरेको थियो । सो तालिममा पनि प्रशिक्षकको भूमिकामा महिला उद्यमी घिमिरेले नै निभाउनु भएको थियो ।
