धरान । कोरोना संक्रमणले थलिएको व्यापार व्यवसाय अझै तंग्रिन नसकेको व्यवसायी एवम् उद्योगीहरुले बताएका छन् । यस्तो समयमा अझ व्यवसायीहरुलाई सरकार र वैंकर्सले लिएको नीतिका कारण व्यवसाय झन धरापमा परेको उनीहरुले बताएका छन् । उनीहरुले राज्यबाट समेत व्यवसायीहरुलाई कुनै सहुलियत नभएको बताएका छन् । धरान वितरण संघको आठौ साधारणसभाको अवसरमा आयोजित कार्यक्रम व्यवसायी तथा उद्योगीहरुले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बैंकको अस्पष्ट नीतिका कारण पछिल्लो समय व्यवसायी मारमा परेको् बताउनुभयो । उहाँले वैंकले व्यवसायीलाई चर्को व्याजदरसँगै व्यवसायीहरुलाई लगानी नगरेका कारण साना तथा मझौला व्यवसायी सबैभन्दा बढी मारमा परेको बताउनुभयो । उहाँले भन्नुभयोे–‘देशको आर्थिक मेरुदण्डको रुपमा व्यवसायीको ठूलो हात छ, तर सरकार र बैंकहरुले व्यवसायीहरुको हितमा कहिल्यै काम गर्न सकेनन् । जसका कारण व्यवसायीहरु दिनप्रतिदिन विस्थापित हुदै जानुपर्ने अवस्था आएको छ ।’
बैकर्स र उद्योगी व्यवसायीको मतभेदका कारण व्यवसायी मारमा परेको उहाँको भनाई थियो । सोमबार धुलिखेल समाजको हलमा आयोजित कार्यक्रममा पुराना व्यवसायी विज्ञान गोविन्द श्रेष्ठलाई सम्मान तथा महासंघका केन्द्रीय अध्यक्ष हरिप्रसाद पन्तलाई अभिनन्दन गरिएको थियो भने व्यवसायिक क्षेत्रमा योगदान पु¥याउने अन्य व्यवसायीहरुलाई समेत सम्मान गरिएको थियो । सो अवसरमा सुनसरी उद्योग वाणिज्य सघंका पूर्व अध्यक्ष गरिधारी सापकोटा, वितरक संघका केन्द्रीय उपाध्यक्ष टंकप्रसाद खनाल लगायतले व्यवसायीको समस्या र समाधानका उपायको चर्चा गनुएभएको थियो । अध्यक्षता धरान वितरक सङ्घका अध्यक्ष नवीन तामाङ अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सन्तोष अग्रवालले गर्नुभएको थियो ।
