बिराटनगर । नेपाल प्रहरी श्रीमती संघ र नोवेल मेडिकल कलेज टिचिङ्गहस्पिटल प्रा.लि. बिराटनगरबीच सम्झौता भएको छ । सम्झौता अनुसार नेपाल प्रहरीका कर्मचारी तथा आश्रित परिवालाई उपचार सेवामा २५ प्रतिशत छुट हुने भएको हो । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँरको प्रमुख आतिथ्यतामा आइतबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सम्पन्न भएको एक कार्यक्रममा प्रमुख अतिथि कुँवर र नोवेल मेडिकल कलेज टिचिङ्गहस्पिटल प्रा.लि.को तर्फबाट प्रबन्ध निर्देशक ईन्दिरा शर्मा (बराल) बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । नेपाल प्रहरीका बहालवाला कर्मचारीहरू तथा आश्रित परिवालाई उपचारको क्रममा बहिरङ्ग विभागमा उपचार गराउँदा बिरामी दर्ता निःशुल्क तथा अस्पतालले प्रदान गर्ने सबै सेवा शुल्कमा२५ प्रतिशत छुट दिने सम्झौता गरिएको हो ।

उपचारको क्रममा प्रयोग हुने औषधी र अन्य चिकित्साजन्य सामग्रीहरूमा छुट उपलब्ध नहुने उल्लेख गरिएको छ । हाललाई १ बर्षको सम्झौता अवधी रहेकोमा पुन ः थप गर्दै लगिने समेत सम्झौता पत्रमा उल्लेख गरिएको छ । सम्झौता पत्रमा हस्ताक्षर पश्चात बोल्दै श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले नेपाल प्रहरीमा कार्यक्रम कर्मचारीहरु र आश्रित परिवारहरुको स्वास्थ्यमा पहुँच पु¥याउने उदेश्यले नोबेल मेडिकल कलेजसंग सम्झौता गरिएको बताउनुभयो । उहाँले यसले सकल दर्जाको मनोवल उच्च भई शान्ति सुरक्षा कार्यमा थप सहजता प्रदान हुनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा नोवेल मेडिकल कलेजकी प्रवन्ध निर्देशक इन्दिरा शर्मा (बराल) ले सामाजिक उत्तरदायित्व बहन गर्दै जनताको सुरक्षामा खटिने नेपाल प्रहरीका कर्मचारीहरुलाई उपचारमा सहुलियत उपलब्ध गराईएको बताउँदै आगामी दिनमा दुवै पक्षको समन्वय र सहकार्यमा सहुलियतमा थप गर्दै लगिने लक्ष्य रहेको बताउनु भयो । उक्त कार्यक्रम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिनु हुँदै यस प्रकारको परोपकारी कार्यले श्रीमती संघको गरिमालाई थप उच्च बनाएको उल्लेख गर्नुभयो । सो अवसरमा श्रीमती लक्ष्मी कुँवर कार्यालय परिसरमा बृक्षारोपन समेत गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला, कोशी प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक जयराज सापकोटा, प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधीकारीहरु, नोवेल मेडिकल कलेजका कार्यकारी निर्देशक राजेश नेपाल तथा अन्य प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
