लुम्बिनीमा भारत–नेपाल साँस्कृतिक महोत्वस भव्यतापूर्वक सम्पन्न

धरान । काठमाण्डौस्थित भारतीय राजदुतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्व विद्यालयसँगको संयुक्त सहकार्यमा गत शुक्रबार अर्थात मंसिर २२ गते भारत–नेपाल साँस्कृतिक महोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ । नेपाल–भारत बीचको साँस्कृतिक एकतालाई जनस्तरसम्मै थप मजबुत बनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको काठमाण्डौस्थित भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध साँस्कृतिक सम्पदा तथा परम्परालाई उजागर गरिएको थियो । महोत्सवको मुख्य आकर्षण भारतको लद्धाखस्थित हेमिस मठका भिक्षु कलाकारहरुले तयार पारेको स्याण्ड मण्डला चित्रकला प्रदर्शनी, प्रख्यात फोटो ग्राफर बेनोय वहलका तस्विरमा आधारित फोटो प्रदर्शनी, भारतीय र नेपाली परिकार सहितको स्ट्रिटफुड फेस्टिबल र साँस्कृतिक कार्यक्रहरु रहेका थिए ।


महोत्सवको नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संयुक्त रुपमा समुद्घाटन गर्नुभएको थियो । महोत्सवको उद्घाटन समारहेमा बौद्ध सम्पदा स्थलका आकर्षक तस्विर समेटिएका फोटो प्रदर्शनीलाई पनि समावेश गरिएको थियो । प्राचीन कालदेखि हालसम्मको बौद्ध धर्मसँग सम्बन्धित स्मारक, कला र सम्पदाका सम्बन्धमा विस्तृत जानकारी फोटो प्रदर्शनीले दिएको थियो । सो अवसरमा नेपालका लागि भारतीय रादुत नविन श्रीवास्तव, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले स्याण्ड मण्डला चित्रकला प्रदर्शनीको समेत सयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । स्याण्ड मण्डला चित्र एक परम्परागत बौद्ध कला हो जसमा रंगीन वालुवाको प्रयोग गरी जटिल डिजाइनहरु सिर्जना गरिन्छ । पदर्शनमा भारतको लद्धाखस्थित हेमिस मठका भिक्षु कलाहरुको सीप र शिल्पकारिता प्रस्तुत गरिएको थियो ।
दुतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ भारतको लेहास्थित थिम्से मठका कलाकारहरुको चाम नृत्य, दुतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका कलाकारहरुको भरत नाट्यम, स्थानीय कलाकारहरुको थारु नाच र नेपालको सुकर्म व्याण्डले प्रस्तुत गरेको सितार बादनले दर्शकहरु मन्त्रमुग्ध भएका थिए । साँस्कृतिक कार्यक्रमको प्रस्तुतिपश्चात लुम्बिनी विश्व शान्ति तथा सद्भाव आगन्तुक केन्द्रमा स्ट्रिट फुड फेस्टिबलको आयोजना गरिएको थियो । उक्त फुड फेस्टिबलमा पकोडा, थारु शैलीको तरुवा, सावुदाना वडा, नेवारी परिकार वारा, जेरी र अन्य विभिन्न प्रकारका भारतीय र नेपाली परिकारहरु राखिएका थिए । मंसिर २२ गते शुक्रबार विहान बौद्ध विश्व विद्यालयमा महोत्सवकै एक हिस्साको रुपमा सामुदायिक विकास र विश्वव्यापी कल्याणमा बौद्ध शिक्षाको प्रभाव अन्वेषण शिर्षकको एक शैक्षिक गोष्ठीको पनि आयोजना गरिएको थियो । बौद्ध दर्शनबारे जानकार भारत र नेपालका प्रख्यात विद्वानहरुले उक्त गोष्ठीमा भाग लिइ आधुनिक संसारमा बौद्ध शिक्षाको सान्दर्भिकताका सम्बन्धमा आ–आफ्ना धारणा राख्नुभएको थियो । यस प्रकारको महोत्सव अब हरेक बर्ष लुम्बिनीमा आयोजना गर्ने र साझा सम्पदा, परम्परा, सँस्कृति मनाउन भारत र नेपालका नागरिकहरुलाई एउटै स्थानमा ल्याउन सहयोग गर्ने निर्णय समेत भएको छ । महोत्सवले दुई देशबीचको बलियो साँस्कृतिक र ऐतिहासिक सम्बन्धलाई पनि उजागर गरेको छ । स्याण्ड मण्डला चित्रकला प्रदर्शनी तथा फोटो प्रदर्शनी आगन्तुकहरुका लागि महोत्सवको दोस्रो दिन पनि खुल्ला राखिएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया