विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आर्तक मच्चाएको छ । १३ दिन भित्रत्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जनाको मृत्यु भइसकेको छ । मंसिर ५ गते हात्तीले आक्रमण गर्दा झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो । यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको हो ।

प्रहरीका अनुसार इटहरीको १९, २०, २ र ३ नम्बर वडामा हरेक राती हात्तीको बथानले भौतिक क्षति गर्दै आएको छ । मंसिर १५ गते झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो । मंसिर १८ गते बिहान मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ । कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समय यता जंगली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूहमा २०–२१ वटा हात्ती छन् । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेको उहाँको भनाई छ ।
