सीमा स्तम्भको मर्मत सुरु

झापा । झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल–भारत सीमानामा रहेका सीमा स्तम्भको मर्मत सोमबारबाट शुरु भएको छ । यो क्षेत्रमा पर्ने ३ सय १७ वटा सीमा स्तम्भ मर्मत शुरु गरिएको हो । सशस्त्र प्रहरी बलको भद्रपुरस्थित–२ नं. गणको प्राविधिक टोलीले मेचीनगर नगरपालिका वडा–७ सतिघट्टामा रहेको स्थायी सीमा स्तम्भ (पीपी) ५५ अन्तर्गतको ९१–१ नम्बरको रेफरेन्स सीमा स्तम्भ (आरपी) बाट मर्मत प्रारम्भ गरिएको हो ।  नगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सशस्त्र प्रहरी बल १ नम्बर बाहिनी मुख्यालयका बाहिनीपति अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरीका कोशी प्रदेश प्रमुख राजेशनाथ बाँस्तोलाले सीमा स्तम्भमा संयुक्त रुपमा रङरोगन गरेर सीमा स्तम्भहरुको मर्मतको उद्घाटन गर्नुभएको थियो । सो अवसरमा कोशी प्रदेशमा पहिलोपल्ट नेपाल–भारत सीमा स्तम्भहरुको मर्मत सम्भार सुरु भएको बताइएको थियो । कोशी प्रदेशभर भारतसँगको ४ सय ३० किलोमिटर लामो खुला सीमानामा कूल ९ सय ५७ वटा सीमा स्तम्भ रहेको र सीमा सुरक्षाका लागि एक हजार पाँच सय जनशक्ति परिचालन गरिएको बाहिनीपति अञ्जनीकुमार पोख्रेलले जानकारी दिनुभयो ।


नेपाल र भारतको बोर्डर वर्किङ ग्रुपको सहमति अनुसार जोर अंकका सीमा स्तम्भको मर्मत सम्भार  भारतीय पक्षले र बिजोर अंकका सीमा स्तम्भको मर्मत सम्भार नेपाली पक्षले गर्ने सहमतिसँगै मर्मत सम्मार शुरु गरिएको हो  झापा जिल्लामा मेचीनगरदेखि गौरीगञ्जसम्मको एक सय ४४ किलोमिटर लामो खुला सीमामा नेपाली पक्षले बिजोर अंक भएका ३ सय १७ वटा सीमा स्तम्भको मर्मत सम्भार गर्ने सशस्त्र प्रहरी बलको २ नं गण भद्रपुरले जनाएको छ । मर्मत सम्भार क्रममा भत्किएका र ढलेका स्तम्भहरुको पुनःस्थापना र सबै स्तम्भको रङगरोगन गरिने भएको छ । झापासँग जोडिएको भारतीय सीमानामा कूल ९ सय ५७ वटा सीमा स्तम्भ रहेको र सोमबार मर्मत सम्भार सुरु भएको सतिघट्टाादेखि उत्तरतर्फ इलामसम्मको सीमा स्तम्भहरु भने हाल मर्मत सम्भार नगरिने भएको छ । उक्त क्षेत्रका कतिपय सीमा स्तम्भहरु मेची नदीको बाढीले हराएका वा पुरिएको सो अवसरमा बताइएको थियो । नेपाल सरकारले विशेष कार्यविधि पारित गरेर सशस्त्र प्रहरी बललाई सीमा स्तम्भहरुको सुरक्षा र मर्मत सम्भारको जिम्मेवारी दिएको छ । सतिघट्टा हुँदै दक्षिणतर्फका सबै सीमा स्तम्भहरुको मर्मत सम्भार गर्न प्राविधिक टोली परिचालन गरिएको  छ ।  नेपाल(भारत सीमानाको दशगजा क्षेत्र खाली गर्ने कार्य हाल समेत भइरहेको छ । झापा जिल्लामा रहेको सीमानाको ५५ स्थानमा स्थानीयद्वारा दशगजा अतिक्रमण भएको सरकारी तथ्याङ्क छ । दशगजामा स्थानीयबासीले कतिपय स्थानमा घर निर्माण गरेका छन् भने अधिकांश अतिक्रमित स्थानमा खेतीपाती छ । केही स्थानमा सडक र कुलो पनि रहेको छ । हालसम्ममा झापाको सीमा क्षेत्रमा ३७ स्थानको अतिक्रमण हटाएर दशगजा खाली गरिएको छ भने बाँकी १८ स्थानमा हटाउन स्थानीयबासीलाई म्याद दिइएको छ । सतिघट्टामा नेपाली पक्षले सीमा स्तम्भहरुको मर्मत सम्भार शुभारम्भ गरेको मर्मत प्रारम्भ कार्यक्रममा भारत पश्चिम बंगालको पानीटंकीस्थित भारतीय सीमा सुरक्षा बलको ४१ नं. बटालियनका निमित्त कमान्डर नबिनकुमार रायको समेत उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया