इटहरी । सामाजिक अभियन्ता, जियाउल हक मेमोरियल च्यारिटी ट्रष्टका सस्थापक सदस्य एवम् सफल व्यवसायी हनुमान अग्रवालको तेस्रो स्मृति दिवसका अवसरमा ट्रष्टद्वारा इटहरीस्तिथत मायाँ घरलाई २६ हजार मूल्य बराबरको खाद्यान्न र कार्पेट वितरण गरिएको छ । आइतबार ट्रष्टका पदाधिकारीहरु मायाँघर इटहरी पुगेर मायाँ घरकी अध्यक्ष सुभद्रा प्याकुरेललाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा १६ हजार मूल्य बराबरको खाद्यान्न र १० हजार बराबरको कार्पेट दिइएको थियो ।

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका संघीय सांसद अशोक चौधरीले ट्रष्टले सामाजिक गतिविधिमा पु-याएको योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँले भन्नुभयो आगामी दिनमा ट्रष्टका लागि आफूले केही गर्नुपरेमा आफू तत्पर रहेको बताउनुभयो । कार्यक्रममाथि प्रकाश पार्दै ट्रष्टका आजीवन सदस्य कृष्णकुमार अग्रवालले भन्नुभयो ट्रष्टले विद्यालय सञ्चालन, विद्यार्थीहरुलाई न्याना कपडा वितरण, पाठ्य सामाग्री वितरण गरेको जानकारी दिनुभयो । यसैगरी मायाँ घरका बारेमा अध्यक्ष प्याकुरेलले प्रकाश पार्नुभएको थियो । ट्रष्टका अध्यक्ष डा. खालिद हुसैन हकको अध्यक्षतामा सम्पन्न उक्त राहत सामाग्री वितरण कार्यक्रमको सञ्चालन माया घर सञ्चालक समितिकी सचिव युनिशा गुरागाईले गर्नुभएको थियो ।
