विर्तामोड । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोख्रेलले विर्तामोडेका पञ्चकन्या चौकस्थित इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्टलाई ‘श्री ५’ हटाउन दबाब दिएका छन् ।
उक्त कलेज परिषरमा मंसिर ९ गते नेपालका राजा ज्ञानेन्द्र वीरविक्रम साहबाट वडामहाराजा धिराज पृथ्वीनारायण शाहको पूर्ण कदको शालिक अनावरण गरिएको थियो । अनावरणसँगै राखिएको ताम्रपत्रमा ‘श्री ५ ज्ञानेन्द्र वीर विक्रम साहदेव सरकारका बाहुलीबाट’ भन्ने वाक्यांश रहेको छ । प्रमुख जिल्ला अधिकारी पोख्रेलले मंसिर १० गते होटल व्यवस्थापनलाई फोन गरी श्री ५ हटाउन भनेका छन् । प्रमुख जिल्ला अधिकारी पोख्रेलसँग भएको वार्तामा सम्वाद सचिवालयबाट प्राप्त पत्रमा श्री ५ नै उल्लेख गरिएकोले आफूहरुले पनि श्री ५ लेखेको र आपत्ति भएर श्री ५ हटाउने जनाएका थिए ।

मंसिर ९ गते राजा ज्ञानेन्द्र शाह झापाको विर्तामोडमा आयोजित कार्यक्रममा झण्डै डेढ लाख सर्वसाधारणले श्री ५ ज्ञानेन्द्र वीरविक्रम साहदेव सरकारको जयजयकार गरेका थिए । राजा आउ देश बचाउ, गणतन्त्र मुर्दाबाद, भ्रष्ट सत्तासीन नेतालाई कारबाही गर भन्ने नारा लगाएका थिए । मंसिर ८ गते साँझ काठमाण्डौबाट भद्रपुर विमानस्थल भएर राजा ज्ञानेन्द्र शाह झापाको पहिलो पाँचतारे होटल मेची क्राउनमा पुग्नु भएको थियो । मंसिर ९ गते २० हजार भन्दा बढी मोटरसाइकल, बाजागाजासहित लाखौ सर्वसाधारणले जय जयकार गर्दै इस्टर्न एम्पायर कलेज अफ होटल म्यानेजमेन्ट पु¥याएका थिए ।
