धरान । बालबालिकालाई स्वस्थ राख्न तथा भविष्यमा लाग्न सक्ने रोगबाट बचाउन नेपाल सरकारले निःशुल्क खोपको व्यवस्था गरिएको छ । विगतमा हस्पताल गएर हैरानीपूर्वक आफ्ना बच्चाहरुलाई खोप लगाउने गरे पनि संघीयतासँगै भएको स्थानीय सरकारले वडावडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर यस्ता कुराको सहज रुपमा उपलब्ध गरेपछि भने विगतको झन्झट व्यहोर्नुपर्ने अवस्था भने छैन ।
संघीयतापछिको स्थानीय सरकारले सर्वसाधारणको सहुलियतका लागि धेरै कामहरु गरेका छन् । यी मध्ये स्वास्थ्य सेवा पनि पर्दछ । वडा वडामै आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरेर वडाबाटै धेरै सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस्ता सेवामध्ये बालबालिकालाई लाउनै पर्ने खोप समेत वडाको स्वास्थ्य केन्द्रबाटै उपलब्ध गराउदै आइएको छ । वडाबाटै यस्ता सुविधा प्रधान गरेपछि भने अस्पतालमा पुगेर घण्टौ पर्खेर लाइनमा खोप लगाउने झन्झट भने समाप्त भएको छ । अहिले सर्वसाधारणहरु सचेत भएकै कारण बच्चाको खोपसम्बन्धी जानकारी लिने र खोप लगाउन ल्याउने गरेको आधारभूत स्वास्थ्य केन्द्र धरान १६ की स्वयम् सेविका अम्बिका पोख्रेल बताउनुहुन्छ । ९० प्रतिशतमा सचेतना भएपनि १० प्रतिशतमा भने अझै सचेत नभएको उहाँको भनाई छ । दुई बर्षभित्रमा १३ वटा रोग विरुद्धको खोप लगाइसक्नुपर्ने भएकोले चैत्रदेखि खोप र खोज अभियानसमेत चलाउदै आएको त्यसबेला कतिपय महिलाहरुले अझै पनि खोप नलगाएको पाइएको बताउनुभयो ।
यो आधारभूत स्वास्थ्य केन्द्रले बच्चाको लागि खोपसँगै सुत्केरी आमाहरुलाई पौष्टिक खानेकुराहरुसमेत प्रदान गर्दै आएको छ । साधारण समस्या पछि गएर ठूलो समस्या भएकोले प्राथमिक उपचारलाई वडाबाटै सेवा दिने उद्देश्यले आधारभूत सेवा केन्द्र स्थापना भएको र यसबाट सेवा प्रदान गर्दै आएको धरान १६ का वडाध्यक्ष मुरारी प्रसाद भट्टराई बताउनुहुन्छ ।

वडाबाट दिने स्वास्थ्य सेवाबाट महिला तथा बालबालिका सबैभन्दा बढी लाभान्वित भएका छन् । यहाँबाट प्रदान गरिएको सुत्केरी पौष्टिक आहार र बालबालिकाको सम्पूर्ण खोपले सहज भएको उनीहरुले बताएका छ् । वडाले महिलाहरुलाई सहज होस् भनेर जन्मेदेखि एक बर्षसम्म लगाउनुपर्ने विसिजी खोप, जन्मिएको ६, १० र १४ हप्तामा लगाउनुपर्ने डि.पि.टी. हेपाटाइटिस बी, हैव, सोही समय अवधिका बच्चाका लागि लगाउने खोप पि.सि.भि, जन्मिएको १४ हप्ता, ९ महिना गरी दुई पटक लगाउने पोलियो ओपिभी, जन्मिएको ९ महिनादेखि १ बर्षभित्र लगाउने दादुरा रुवेला खोप, पहिलो गर्भमा एक महिनाको फरकमा दुई पटक, त्यसपछिको गर्भमा एक पटक खोप लगाउनुपर्ने धनुष्टकार विरुद्धको रोग टि.टि.–टिडी , जन्मिएको १२ देखि १३ महिना बालबालिकालाई लगााइने जापानिज इन्सेफालाइटिस विरुद्धको खोप र जन्मिएको ६ हप्ता र १४ को उमेरमा दुई पटक रोटा भाइरस विरुद्ध लड्ने शक्ति प्रदान गर्ने एफआइभिपी खोप दिँदै आएको छ ।
