धरान । आज यम पञ्चकको पाँचौ दिन । आजको दिनलाई दिदी बहिनीहरुले आफ्ना दाजु भाईहरुलाई सुस्वास्थ्य एवम् दीर्घायूको कामना गर्दै टिका लगाउने दिनको रुपमा लिने गरिन्छ । कतिपय दाजुभाईले आफ्नै दिदीबहिनीबाट यस दिन टिका लगाउने गर्छन् भने दिदीभाई तथा दाजुभाई नहुनेले सम्बन्ध जोडेरै भएपनि टिका लगाउने गर्छन् । तर समाजमा यस्ता वर्ग पनि छन् जसको कुनै नाता तथा सम्बन्ध हुदैन । एक शब्दमा भन्दा अनाथ । बाहिरबाट उनीहरु एक्लो भएको देखिए पनि उनीहरुले त्यहाँ रहेका सबैसँग सामुहिक रुपमा टिका लगाउँदा भने आफ्नो कोही नभएको महसुस नै गर्दैनन् । धरान १ मा रहेको अपांग तथा असहाय केन्द्र । जहाँ अनाथ बालबालिका, अपांग तथा असहायहरुलाई पालनपोषणसँैगै शिक्षा तथा स्वरोजगार बनाउने काम समेत गरिदै आएको छ । गृहमा रहेका सबैलाई बाहिरबाट हेर्दा चडपर्वमा खल्लो महसुस लाग्छ होला भन्ने भान हुन्छ तर त्यहा रहेकाहरुको अनिष्ट सम्बन्धले बाहिरबाट हेर्ने आँखामा लगाएको पट्टि उघारिदिने गरेको छ ।

विशेष गरी नेपालीहरुको महान चाड दशै तथा तिहार जस्ता चाडपर्व उनी गृहमै सामुहिक रुपमा मनाउँछन् । गृहप्रमुख भीम राईले उनीहरुलाई एक्लो भएको महसुस हुन दिनु भएको छैन । उहाँ समय अनुसार कहिले बाबुको भूमिकामा रहनुहुन्छ, कहिले दाईको त कहिले भाइको भूमिकामा रहनुहुन्छ । दशैमा अभिभावकको भूमिका निर्वाँह गरिरहँदा तिहार अर्थात भाइटिकामा दाजु तथा भाईको भूमिका समेत गर्नुहुन्छ ।
त्यहाँ रहेकाहरु समेत सबै खुशी छन् । उनीहरु एउटै आमामा सन्तान नभए पनि टाढाको सम्बन्धको आभाषसमेत हुदैन । प्रत्येक बर्ष दशै तथा तिहारमा सबै सँगै बसेर चाडपर्व मनाउँदा आफूहरुलाई अत्यन्तै खुशी लाग्ने गरेको गृहमा बन्ने अपांग तथा सहायहरुले बताउने गरेका छन् ।
जस्तोसुकै परिस्थितिमा पनि उनीहरुको पालनपोषण तथा भविष्य निर्मामा तल्लिन भीम राई तथा उहाँँका परिवारले यसका लागि धेरै मेहनत गरेका छन् । उनीहरुलाई विद्यालयमा पठनपाठन तथा स्वरोजगार बनाउने तालिम समेत दिने गरेका छन् । अहिले त्यहाँ रहेका बालबालिकालाई उहाँले धरान १२ स्थित पब्लिक विद्यालयमा राखिदिनु भएको छ । नेत्रहीन र बहिराहरुका लागि छुट्टै विद्यालय भए पनि अपांगहरुका लागि छुट्टै विद्यालय नभएकोमा भने उहाँ दुःख व्यक्त गर्नुहुन्छ । त्यहा बालबालिकादेखि बृद्धसम्म २७ जना आश्रित छन् । दशैमा उहाँ अभिभावको भूमिकामा रहेर सबैलाई टिका लगाइदिनुहुन्छ भने तिहारको भाइटिकामा भने त्यहाँ रहेका आश्रित महिलाहरुलाई चेलीको रुपमा लिएर टिका लगाउनुहुन्छ । उहाँले आश्रममा रहनु भएकी ८२ बर्षीया बृद्धा रत्नमोति राईलाई अभिभावक भएर दशैका टिका लगाउने र तिहारको भाइटिकामा उहाँबाट टिका लगाउने काम गर्नुहुन्छ । यहाँ रहेका सबै एक अर्काका पुरक बनिसकेका छन् । एक अर्काबीच अपुरो महसुस गर्ने गरेको गृहप्रमुख राई बताउनुहुन्छ । विशेष गरी चाडपर्वका समयमा उनीहरुलाई यहाँ बस्ने घर कसैको पराइ नभएको आभाष भएको प्रष्ट देख्न सकिन्छ ।
