कोशी प्रदेशमा सरकार गठनपश्चात राजनैतिक वेइमान भएको छ । महिना–महिना दिनमा सरकार बन्ने र भत्कने क्रम चलिरहेको अवस्थामा संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेको समर्थनमा पार्टी संस्थापन इतर समूह सांसद केदार कार्कीको नेतृत्वमा ८ जना सांसदले सरकार गठन गर्ने सहमति गरे । तर सरकार गठन भएको एक महिना नपुग्दै काँग्रेसबाट मुख्यमन्त्री बनेका कार्कीले राजनैतिक बेइमानी मात्र गरेका छै्रनन् अक्षम्य अपराध र घात गरेका छन् । एमाले र आठ जना काँग्रेसका सांसद बीचमा भएको सहमति अनुसार कोशी प्रदेशमा काँग्रेस र एमाले सम्मिलित सरकार बन्नुपर्ने हो ।
मुख्यमन्त्री कार्की यस कदमले राजनैतिक रुपमा पतन त भए सँगै नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको राजनैतिक भविष्य समेतमा प्रश्नचिन्ह लगाइदिएको छ । कोइरालाका विश्वासपात्र कार्कीले कोइरालाकै निर्देशनमा एक महिना अगाडि गठबन्धनबाट अगाडि सारिएका इन्द्रबहादुर आङ्बोको विरुद्ध मुख्यमन्त्रीका लागि अग्रसर देखाए । एमालेले उनलाई विश्वासका साथ समर्थन ग¥यो तर सहमतिका बुँदाहरुको मसी सुक्न नपाउँदै कार्कीले घात गरे, डा. शेखर कोइराला संस्थापनसँग आत्मसमर्पण गर्न पुगे । राजनीतिमा इमान्दारिता भएमात्र उसको राजनैतिक जीवन सुखद हुन्छ । अब कोशी प्रदेशको घट्नाले पार्टीभित्र संस्थापन इतर समूह प्रति घृणा जागेको छ । वर्तमान माओवादी लगायतसँगको केन्द्रीय गठबन्धनप्रति आम काँग्रेसका कार्यकर्ता नेतृत्वप्रति आक्रोसित छन्, नेतृत्वको घृणा गर्छन् बर्षौदेखि त्याग गरेको काँग्रेस छोडेर अन्य पार्टीमा पलायन हुन थालेका छन् । यसैबीच डा. शेखर कोइरालाप्रति आम कार्यकर्ताको झिनो आशा पलाउँदै गएको थियो । काँग्रेस बुझेका कोइरालाले काँग्रेस जोगाउलान् भन्ने विश्वास गरेका थिए । अन्तत ः डा. कोइरालाको ह्याउ पनि कोशी प्रदेशको राजनैतिक घट्ना क्रमले छताछुल्ल बनाइदिएको छ । यही घट्नाले लम्पसारवादी कोइराला भनेर सर्वत्र तिब्र आलोचना हुन थालेको छ । आफ्नो निर्णयमा अडान लिन नसक्नेले किन आठ जना सांसदलाई अगाडि सारे ? अर्कोतर्फ एमालेसँग भएको सहमति अनुसार निर्देशित राजनीति गर्ने केदार कार्किले एमालेर काँग्रेस सम्मिलित सरकार बनाउनुपर्ने थियो । तर उनले माओवादी, एस, जसपालाई समेत हुलेर सरकार विस्तार गरेपछि एमाले सरकारबाट बाहिरिने निर्णय गर्नु स्वभाविक हो । मुख्यमन्त्री कार्किले कतिसम्म हाँस्यास्पद तर्क गरेका छन् भने हिजो सविधान बनाउँदा सबै दल एकै ठाउँमा उभिएर बनाएको हो । कोशी प्रदेशको सरकारमा समेत सबै दल मिलाएर लौजान खोजेको बताए । यो भन्दा पतित तर्क अर्को हुनै सक्दैन । संविधान बनाउँदाको अवस्था र अहिलेको अवस्था भिन्न हो भन्ने सामान्य ज्ञान समेत उनमा देखिएन । सस्थापन पक्षको चर्को दबाब मैले झेल्न सकिन भनेको भए मान्न सकिन्थ्यो । दबाब झेल्न सक्ने हुति थिएन भने किन एमालेसँग हतार हतार सहमति गर्न पुगे ? उनले पाएको मुख्यमन्त्री एमालेकै दयाले हो । यसमा गठबन्धन र संस्थापनको एक अंश पनि योगदान छैन भन्ने कुरा उनले पद पाएपछि बिर्सिए ।
