धरान/लामो रस्साकस्सीको बाबजदु हिजो मंगलबारदेखि धरानबाटै नापी र मालपोतको सेवा उपलब्ध भएको छ ।
सरकारले गत असोजमै देशमा विभिन्न जिल्लामा नापी र मालपोको सेवा केन्द्र विस्तार गर्ने निर्णय गरे तापनि कार्यान्वयन पक्षमा भएको ढिलासुस्ती, सदरमुकामबासीको आन्दोलन र अवरोध, केही विचौलियाहरुको आवश्यकता भन्दा बढी चलखेल, कार्यालय सञ्चालनका लागि उपयुक्त भवनको अभाव जस्ता कारणले ६ महिना अगाडि नै सञ्चालनमा आउनुपर्ने मालपोत र नापीको सेवा केन्द्र सम्बन्धमा अन्यौल बढेको थियो ।
नापी र मालपोतका सेवा केन्द्र
सदरमुकाम इनरुवाबाट अन्यत्र लैजादा सदरमुकामको रौनकता घट्ने, व्यापार व्यवसायमा असर पुग्ने भन्दै उद्योग वाणिज्य संघ इनरुवाको नेतृतवमा
चरणबद्ध रुपमा आन्दोलन भएपछि यसप्रतिको अन्यौलता बढ्दै गएको थियो । झण्डै दुई महिना अगाडि प्रजिअको पहलमा बसेको सर्वदलीय भेलाले इनरुवामा यातायात, राजस्व, घरेलुका सेवा केन्द्र विस्तार गर्ने निर्णय गरेपछि धरानमा नापी र मालपोतको सेवा केन्द्र राख्न दिन संघर्ष समिति राजी भएको थियो । हाल धरान उपहानगरपालिकाको भवनबाटै अर्को व्यवस्था नहुन्ज्याल सेवा सुचारु भएको छ ।
