धरान । कोशी प्रदेशमा गत बर्षको तुलनामा यस बर्षको दशैमा अत्याधिक सवारी दुर्घटना भएका छन् । यस बर्षको दशैमा ६ दिनको अवधिमा १ सय ३५ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ भने १ सय ६५ जना घाइते भएका छन् । दशै प्रारम्भ भएको फूलपातिको दिनदेखि कोजाग्रत पूर्णिमा सम्ममा भएको १ सय ३५ वटा सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाइते १ सय ६५ जनामध्ये ४१ जनाको अवस्था चिन्ताजनक रहेको र उनीहरुको प्रदेश र काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

दशैको समयमा मादक पदार्थ सेवन गरी जथाभावि सवारी चलाउने, ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनका आवश्यक कागजात नभएका ६ हजार ६ सय २८ सवारी साधनलाई कारबाही गरिएको र त्यसबाट ४४ लाख १४ हजार ५ सय राजस्व संकलन भएको कोशी प्रदेश ट्राफिक इन्चार्ज एसपी सरोज पौड्यालले बताउनुभयो ।
