नेपाली जनताले यतिबेला मुलुकमा सरकार विहीनताको महसुस गरेका छन् । अनेकौ प्रकारका रंगीविरंगी टालाले टालिएको सरकार भएपछि राज्यका सुरक्षा संयन्त्रदेखि अन्य प्रशासनिक संयन्त्रहरुले आफ्नो् लखनौ लुटको धन्दा गज्जबले चलाएका छन् । महंगी र बेरोजगारीले थिलथिलिएका सर्वसाधारणलाई यतिबेला सशस्त्र प्रहरीको घुमुवाको अवैध असुली धन्दाले आजित बनाएको छ । अरुबेला जसोतसो विहान बेलुकाको छाक टारेपनि चाडवाडका समयमा ऐचो, पैचो, ऋणपान गरेर भएपनि दुई चार छाक मिठो खाने लालसाले सीमावर्ती भारतीय बजारबाट किनमेल गरेर फर्किएकाहरुसँग सशस्त्र प्रहरीका घुमुवाहरुले असुली धन्दा चलाएका छन् । लाइन मिलाएर रकम दिनुपर्देन भन्दै आफू सशस्त्र प्रहरीको घुमुवा भन्दै किनमेल गेर फर्किएकाहरुबाट अवैध असुली गर्ने, असुली नभए खरिद गरेर ल्याइएका सामान जफत गर्ने, धम्क्याउने, हतियार देखाउने गरेको प्रति कोशी प्रदेशको कमाण्ड सम्हालेर बसेकाहरुलाई पत्तै हुँदैन । सशस्त्र प्रहरीका घमुवाहरु नै भन्छन् आफूहरुले असुली गरेको रकम सम्बन्धित ठाउँमा पु¥याउनैपर्छ नत्र घुमुवाको ड्युटी नै पाइँदैन । खास गरेर झापा, मोरङ, सुनसरी जिल्लामा भारतसँग सीमा जोडिएका भारतीय बजार निम्न र मध्यम वर्गीय परिवारका लागि किनमेलको स्थल बन्दै आएको छ । नेपाली बजार भन्दा झण्डै आधा मूल्यमा खाद्यान्न, लत्ता कपडा पाइने भएपछि यस्ता परिवारहरु सीमावर्ती बजार पुग्छन् । भारतको सीमावर्ती बजारमा १५ सय रुपैयाँमा पाइने एक कट्टा चामल नेपाली बजारमा ३५ सय तिर्नुपर्छ, एक केजी चिनी सीमावर्ती बजारमा ६० रुपैयाँमा पाइन्छ भने नेपाली बजारमा १२५ सम्म तिर्नुपर्छ । त्यो पनि सहज ढंगले पाइँदैन लाइन बस्नुपर्छ । निम्न वर्गीय र मध्यम वर्गीय परिवार भारतीय बजारमा रहरले किनमेल गर्न गएका हुँदैनन् । राज्यले भारतीय सीमावर्ती बजारमा जुन मूल्यमा सामान पाइन्छ सोही मूल्यमा नेपाली बजारमा उपलब्ध गराए कोही भारतीय बजार पुग्दैनन् । उपभोग्य एवम् घरायसी सामान किनमेल गरेर फर्किएकाहरुलाई सशस्त्र प्रहरीका घुमुवाहरुले मात्र नभएर कथित चेकजाँचको नाममा सडकमा ढुकेर बसेका नेपाल प्रहरी, राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालयका कर्मचारीहरुको समेत गिद्धे दृष्टि उत्तिकै रहने गरेको छ । पदीय आडमा राज्यका सबै संयन्त्र लुट र कमाउ धन्दामै मग्न भएका छन् । नागरिकले आफ्ना पीडा कहाँ सुनाउने ? उजुरी गर्ने निकायमा तिनै लुट मच्चाउने र कमाउ धन्दामा संलग्न भएकाहरु नै छन् । सुनुवाई कसल गर्ने ?
