प्याव्सन एन्फा प्रेसिडेन्ट कप सम्पन्न

धरान । विद्यालय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक सुनसरी जिल्लाभरिका नीजि विद्यालय समावेश गरेर व्याव्सनमा आवद्ध विद्यालयलाई समावेश गरी फुटबल प्रतियोगिताको लिंग गेम सञ्चालन  गरिएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार धरान १७ एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन भएको थियो । ‘प्याब्सन एन्फा प्रेसिडेन्ट कप’ नामले सञ्चालन भएको विद्यालय फुटबल लिग प्रतियोगितामा सिद्धार्थ बोर्डिङ स्कुल बराहक्षेत्र सबैभन्दा बढी अंक ल्याएर पहिलो स्थान ल्याएको  छ ।  प्रतियोगिताको फाइनल चरणको अन्तिम खेलमा हिमशिखर बोर्डिङ स्कुल तरहरालाई १–० गोलले  हराउदै कुल ९ अंक जोड्दै विजेता भएको हो । फाइनल चरणको खेलहरु लिगको आधारमा एन्फा टेक्निल सेन्टरको मैदानमा भएको थियो । फाइनल  चरणका तीन खेलमा सिद्धार्थले जित निकाल्दै ९ अंकका साथ शीर्ष स्थानमा रहेर विजेता भएको हो । सिद्धार्थले विजेता ट्रफीका साथै नगद २० हजार, मेडल र प्रमाणपत्र हात पारेको छ ।


३ अंकका साथ महेन्द्र मेमोरियल बोर्डिङ स्कुल दुहबी प्रतियोगितामा दोस्रो र इटहरीस्थित हिमशिखर बोर्डिङ स्कुल र धरानको होलिल्याण्डले बराबरी अंक ल्याएर तेस्रो स्थान हात पारे पनि गोलअन्तरमा महेन्द्रले बाजी मारेपछि हिमशिखर तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भयो भने होलिल्याण्ड चौथो भयो । दोस्रो भएको महेन्द्र मेमोरियलले नगद १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो भने तेस्रो भएको हिमशिखरले नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने चौथो भएको धरानको होलिल्याण्ड बोर्डिङ स्कुलले नगद ७ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिद्धार्थ बोर्डिङका सरुण चौधरी घोषित हुदै नगद ५ हजार र ट्रफी पुरस्कार पाए भने फाइनल खेलको म्यान अफ दि म्याच सिद्धार्थकै सुरज सुवेदी घोषित भए । यस्तै, बेष्ट गोलकिपर सिद्धार्थका सन्देश चौधरी, बेष्ट डिफेन्डर हिमशिखरका नेल्सन गुरुङ, बेष्ट मिडफिल्डर महेन्द्र मेमोरियलका प्रशान्त मण्डल, बेष्ट स्टूाइकर सिद्धार्थका सुशान्त चौधरी, बेष्ट कोच सिद्धार्थका अजित अधिकारी घोषित भए । उनीहरुले जनही नगद २ हजार र ट्रफी पुरस्कार पाए । प्रतियोगिताको फाइनल चरणमा सर्वाधिक ३ गोल गरेका महेन्द्र मोरङका आशिष भगतले नगद ३ हजार र ट्रफी पुरस्कार पाए ।
खेलाडीहरुलाई आयोजक एन्फा सुनसरीका अध्यक्ष नविन राई, ं प्रदेश फुटबल संघका अध्यक्ष किशोर राई, प्याब्सन सुनसरीका अध्यक्ष अनुप योञ्जन, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगतामा ३२ विद्यालयहरुले सहभागिता जनाएका थिए । पहिलो चरणका खेलहरु इटहरी र बराहक्षेत्रमा खेलाइएको थियो ।

तपाईको प्रतिक्रिया