धरान । सेक्टर वन कार्यालय धरान र धरान उपमहानगरपालिकाको सम्बन्धी चिसिएको छ । एकले अर्कोलाई कटाक्ष गर्ने काम हुदै आएको बेला पछिल्लो समय सेक्टर वन कार्यालय पाँचकन्या धरानका अधिकृत महेश साहले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिका कारण मेयर साम्पाङका समर्थकहरुले वन कार्यालय नै घेराउ गर्न पुगेका थिए । आइतबार मेयर हर्क साम्पाङका समर्थकहरुको समूहले सेक्टर वन कार्यालय घेराउ गरे । घेराउ गर्नुको प्रमुख कारण थियो सेक्टर वन कार्यालयका अधिकृत महेस साहले धरान ४ मा रहेको निशान सारंगा सामुदायिक वन उपभोक्त समूहको तेस्रो साधारण सभामा हर्क साम्पाङले गरेको वृक्षारोपणको कटाक्ष । साहले वन कार्यालयको विज्ञसँग समन्वय नगरी, भौगोलिक अवस्था नहेरी वृक्षारोपण गरेको, मेयर साम्पाङले धरानका विभिन्न क्षेत्रमा ६ लाख विरुवा रोपेको विषयमा टिप्पणी गर्दै धरानभरि रोप्दा ६ लाख विरुवा बढी हुने टिप्पणी गर्नुभएको थियो ।

उहाँको अभिव्यक्तिलाई लिएर समर्थकहरुले आइतबार सेक्टर वन कार्यालयमा समूह नै लिएर पुगेका थिए । उनीहरुले साहले बोलेको कुरालाई स्पष्टीकरण दिनुपर्ने माग राखेका थिए । तर साह विदामा
रहेका कारण अधिकृत साहसँग भेट नभएपनि यस्तो अभिव्यक्ति नदिन चेतावनी दिएका थिए । उनीहरुले स्वस्फूर्त रुपमा जनश्रमदान गरेर वृक्षरोपण गरेको कामप्रति साहले निरुत्साहित गर्ने काम बारम्बार गर्ने गरेको आरोप उनीहरुको थियो । वन कार्यालय घेराउ गर्न पुग्नु भएका समिर तामाङले वनअधिकृतको अभिव्यक्तिले श्रमदान गर्नेहरुलाई चोट पुगेको बताउनुभएको थियो । कार्यालयमा साह नभएपनि उहाँले बोलेको कुरालाई सेक्टर वन कार्यालय विष्णुपादुका धरानका अधिकृत विक्रम अमात्यले सच्याउने प्रयास गर्नुभएको थियो । उहाँले अधिकृत साहले बोलेको व्यक्तिगत कुरालाई भन्दा पनि स्वस्फूर्त रुपमा गर्दै आएको वृक्षारोपणलाई वन कार्यालयले सहयोग गर्नुपर्ने बताउनु भएको थियो । उहाँले आम श्रमदाता तथा त्यहाँ सहभागीहरुलाई प्राविधिक सहयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो । उहाँले सार्वजनिक पद धारण गर्ने व्यक्तिले सार्वजनिक कार्यक्रममा विचार पु¥याएर बोल्नुपर्ने बताउनुभयो । मेयर साम्पाङले पछिल्लो समय धरानको जलाधार क्षेत्र, वन क्षेत्र लगायत अत्यावश्यक स्थानमा जनश्रमदानद्वारा वृक्षारोपण गर्दै आइरहेका छन् । वन विज्ञहरुले उहाँले गर्नुभएको वृक्षरोपण सह्रानीय काम भएपनि विज्ञसँग समन्वय नगरी, भौगोलिक अवस्था नहेरी गरिएको वृक्षारोपण प्रभावकारी नहुने वन कार्यालयले बताउदै आएको छ भने ६ लाख विरुवा रोप्न ३ सय ७५ हेक्टर चाहिने त्यति जग्गा धरानमा नरहेको टिप्पणी गर्दै आइरहेका छन् । माया धराने सावुनबाट चिसिएको धरान उपमहानरपालिका र सेक्टर वन कार्यालय धरानको सम्बन्धले वन कार्यालयले धरान ८ को जंगलक्षेत्रमा फोहोर विर्सजन गर्न नदिँदा वन कार्यालय प्रांगरण अगाडि उपमहानगरपालिकाले फोहोर फालेपछि अझ चिसिएको थियो । प्रत्येक शनिवारलाई श्रमवारको रुपमा लिएर मेयर साम्पाङले धरानको जलाधार तथा वन जंगलमा गर्ने गरेको वृक्षारोपणमा धरान लगायत धरान बाहिरका हजारौ सर्वसाधारणले समेत साथ दिदै आएका थिए । तर प्रमुखले नै भौगोलिक अवस्था नहेरी जथाभावि वृक्षारोपण गरेको वन कार्यालयका प्रमुखले दिएको अभिव्यक्तिले समन्वय र सहकार्यको दूरी बढाएको छ ।
