धरान । धरान १५ मदनआश्रित चौकको एक घरमा आगलागी भएको छ । मदन आश्रित चौक कोकोनट हाउस छेउमा रहेको सीता धितालको काठले बनेको टिनको छाना भएको दुई तले घरमा आगलागी हुदा घर जलेर पूर्ण रुपमा नष्ट भएको छ भने घरमा रहेका सुनचाँदीका गहना, लत्ताकपडा, दुई वटा बाख्रा लगायतका सरसमान जलेर नष्ट भएको हो । विहान खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी भएको पीडित सीता धितालकी कान्छी बुहारी कल्पना धितालले बताउनुभयो । धरान उपमहानगरपालिकाको दुई वटा दमकल, जनपथ प्रहरी, नगर प्रहरी र स्थानीय प्रहरीले करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको पीडित कल्पनाले जानकारी दिनुभयो । उहाँले अगालागीबाट करिब १ करोड बराबरको क्षति भएको जानकारी दिनुभयो ।

खाना पकाउने क्रममा ग्यास बाल्ने क्रममा ग्यासबाट ह्वात्तै आगो सल्किएको र त्यसपछि पड्एिको पीडित कल्पनाले बताउनुभयो । घरमा रहनु भएकी सासु आमा र बालबच्चालाई जोगाउन सकिए पनि घरभित्र रहेका सरसमान निकाल्न नसक्दा सबै जलेर नष्ट भएको उहाँको भनाई छ । आगलागीपश्चात गाउँलेहरुले दमकललाई खबर गरेको भएपनि घर तथा घरभित्र राखिएका सरसमान जोगाउन नसकिएको कल्पना बताउँनुहुन्छ । अहिले आगलागी नियन्त्रणमा आए पनि पीडित परिवारको बस्ने बास समेत छैन । परिवारका तीनै भाई वैदेशिक रोजगारमा रहेको कल्पनाले बताउनुभयो । आगलागी पश्चात परिवार विचल्ली भएका छन् ।
