मोरङ । मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको पथरी शनिश्चरे नगरपालिका –४ का ३८ बर्षीय धन बहादुर थापा र सप्तरीका १९ बर्षीय शिवम गुप्ता रहेका छन । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट आज दिउँसो खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी स्पाज्मिड –४२० पत्ता , ट्रमाडोल ४२९ पत्ता सहित थापालाई पथरी शनिश्चरे नगरपालिका–४ शिरिसे डाँडाबाट पक्राउ गरेको हो । यसैगरी लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१५ बाट आज दिउँसो २ ग्राम ८ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित सप्तरीका गुप्तालाई नियन्त्रणमा लिएको हो । लागुऔषध सहित पक्राउ परेका दुबैजनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।
