सन्तानको स्मृतिमा बास्केटबल प्रतियोगिता

धरान । जोकोही पनि आफ्ना सन्तानलाई गुमाउनु पर्दा पीडा हुन्छ्, जीन्दगीभर चोट सहेर बस्छन् । जीन्दगीभर त्यो चोटले पिरोलिरहन्छ । तर रचनात्मक कार्यमा ध्यान जादैन । धरान १८ का एक दम्पत्ति आफ्नो एक मात्र छोरालाई गुमाउनु पर्दा पनि उनीहरुले छोराले छोडेर गएको अधुरो सपना पूरा गराउन त्यसमै लगानी गरेका छन् । बास्केटबलका उदयीमान खेलाडी ती सन्तानको इच्छा पूरा गर्न गत बर्षदेखि छोराकै नाममा अभिभावकले अक्षयकोष खडा गरेर बास्केट बल प्रतियोगिताको आयोजना गरेर बास्केट बल प्रतियोगिताको प्रवद्र्धनमा जुटेका छन् ।


धरान १८ निवासी रेवाहाङ  राईको १६ वर्षको उमेरमा निधन भएको थियो । कक्षा १० मा अध्ययनरत राई २०७७ माघ २० गते कक्षा १० मा अध्ययनरत रहँदा निधन भएको  थियो । उनी बास्केटबल खेलका उदयीमान खेलाडी थिए । बास्केटबलमार्फत नै राष्ट्रिय स्तरको ख्याति कमाउन सक्ने क्षमता भएका रेवाहाङको १६ बर्षमै मृत्यु भएपनि शोकलाई शक्तिमा बदल्दै उनका पिता रेवतीरमण राई र माता सुजता राईले धरानको मेघा हिमालयन कलेजसँग सम्झौता गरी २ लाखको अक्षयकोष जम्मा गरेर गत बर्षदेखि धरान मेघा रेवाहाङ मेमोरियल यु १८ बास्केटबल अन्तरकलेज प्रतियोगितामा शुरु  गरेका हुन् । पहिलो संस्करण सम्पन्न भएको सो प्रतियोगिताको दोस्रो संस्करण सोमबारबाट शुरु भएको छ । प्रतियोगिताको उद्घाटन संघीय सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले गर्नुभएको थियो । सो अवसरमा बोल्दै मन्त्री राईले राई दम्पत्तिले आफ्ना सन्तान गुमाउदा पनि प्रेरणादायी काम गरेर शोकलाई शक्तिमा परिणत गरेको देख्दा आफूलाई पनि प्रेरणा मिलेको र अरुलाई पनि प्रेरणा मिल्ने बताउनुभयो । .यस्तै धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र विक्रम बेघाले बास्केटबलको उर्वरभूमि धरानमा नीजि क्षेत्रबाट हुदै आएका प्रतियोगिताले खेलकुदको सहर धरानको शाख गिर्न नदिएको बताउनुभयो । उहाँले गत बर्षदेखि शुरु भएको यो प्रतियोगिताले धरानको बास्केट बल खेलको प्रवद्र्धनमा थप सहयोग पुगेको बताउनुभयो । यस्तै स्व. रेवाहाङका पीता  रेवतीरमण राईले उमेर पुगेर मृत्यु भएकाहरुले समाजलाई धेरै कुरा दिइसक्ने तर अल्पआयुमै मृत्युवरण गरेकाको उद्देश्य पूरा नहुने भएकोले छोराको उद्देश्यलाई बास्केटबलमार्फत पूरा गराउन स्रोत र साधनको कमी हुदाहुदै पनि बास्केट खेल प्रतियोगिताका लागि २ लाखको अक्षय कोष स्थापना गरिएको बताउनुभयो । सो अवसरमा कोशी प्रदेश सांसद रमेश बस्नेत, नेकपा एमाले धरान नगर कमिटीका अध्यक्ष हर्कजंग एभेङ, सुनसरी बास्केट बल सघका अध्यक्ष नारायण सुवेदीले राई दम्पत्तिले खेलप्रति गरेको कामलाई प्रशंसा गरेका थिए । प्रतियोगिता धरान १२ स्थित हिमालयन मेघा कलेजको बास्केट कोटमा शुरु भएको हो । प्रतियोगितामा धरान, तरहरा,धनकुटा झापा कलेज तथा स्कुलबाट १६ वटा टिमले सहभागिता जनाएका छन् ।  प्रतियोगिताका विजेता टिमले नगद २० हजार, द्वितीय हुने १० हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा मोस्ट भ्यालुएबल पुरस्कार (उत्कृष्ट खेलाडी) पुरस्कार नगद २ हजार ५ सय, हाइ स्कोरर नगद २ हजार, थ्री पोइन्ट च्याम्पियन नगद २ हजार , उदीयमान खेलाडीले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया