इनरुवा । इनरुवा नगरपालिका वडा नं. ४ स्थित मेहता टोलमा अनेकौ प्रलोभन देखाउँदै हिन्दु महिला र बालबालिकालाई क्रिश्चियन धर्मप्रति प्रेरित गर्ने दुई जनालाई स्थानीयले कालो मोसो दलेर प्रहरीलाई जिम्मा लगाएका छन् ।
शनिवार मेहता टोलका एक स्थानीयको घरमा धर्म परिवर्तन गराउन पुगेका ती दुई जनाले महिला र बालिका भेला गराई पिता परमेश्वरमा आएपछि गरिबी हँटने, आफूलाई लागेका विभिन्न घातक रोगहरु निको भएर जाने झुठो प्रलोभन दिइरहेको अवस्थामा विश्वहिन्दु परिषद् वडा कार्य समिति विरोधमा उत्रिएको थियो । परिषद्मा आवद्ध स्थानीयहरुले प्रलोभन दिएर धर्म परिवर्तन नगराउन आग्रह गर्दा उनीहरुले वेवास्ता गरेपछि उनीहरुलाई कालो मोसो देलर दुई चार झापड हानी प्रहरीलाई जिम्मा दिएको स्थानीय भागवत चौधरीले जानकारी दिए । उनका अनुसार तीनीहरु केही समयदेखि उक्त विपन्न बस्तीमा आएर लाउड स्पिकर लगाई झुठा प्रचार गरी स्थानीयलाई भ्रमित पार्दै आएका थिए । इश्वरीय मार्ग भजन मण्डली सच्चाई केन्द्रको नाममा उनीहरुले सुनसरीका अन्य स्थानमा समेत गतिविधि गर्ने गरेको इनरुवा ४ कै बेचु मेहताले बताए । गरिबीको आडमा महिला र बालबालिकालाई प्रलोभन दिनु सैह्य हुँदैन त्यस्तालाई ठेगान लगाइन्छ, मेहताले भने ।

