धनकुटा । अलैची खेतिबाट आत्मनिर्भरबन्दै गएका धनकुटाका कृषकहरु इस बर्ष भने अलैचीको भाउ बृद्धि हुदासमेत कृषक हर्षित छैनन् । मूल्य बृद्धि भएपनि उत्पादनमा ह्रास आएको उनीहरुको भनाई छ । यस बर्ष अलैचीको भाउ प्रतिमन ६० देखि ७० हजारसम्म पुगेको छ । विगतका बर्षहरुमा प्रतिमन १० हजारले पनि विक्री हुन मुस्किल अलैचीले यस पटक भाउ पाए पनि लामो समय परेको खडेरीका कारण उत्पादन घटेको कृषकहरु बताउँछन् । महालक्ष्मी नगरपालिका चानुवाका कृषक महेन्द्र पौडेलका अनुसार यस बर्ष अलैचीले मेहनत गरे अनुसारको मूल्य पाएको बताउनुभयो । करिब २ विगाह क्षेत्रमा अलैची लगाएका उनले उत्पादनमा भने ह्रास आएको बताउनुभयो । यस्तै भनाई सोही ठाउँका कृषक राम चापागाईको रहेको छ । विगतको बर्षहरुमा अलैचीको मूल्य न्यून भएको र विक्री पनि नभएपछि थोरैमात्र अलैची लगाएका थिए । करिब १ विगाहा जमिनका लगाइएको अलैचीले उत्पादन धेरै नदिएको उहाँको भनाई छ । लामो समयसम्म परेको खडेरीका कारण पनि उत्पादन कम भएको उहाँ बताउनुहुन्छ् । उहाँले भन्नुभयो–‘अलैचीले मूल्य राम्रो पाएको छ, तर उत्पादन भने कम छ, सोचेजस्तो आम्दानी भने गर्न सकिएन ।’
