राजधानी । भारत–नेपाल लाइफ अफ क्रेडिट (एलओसी) को दशौ समीक्षा बैठक गत विहीबार काठमाण्डौमा सम्पन्न भएको छ । दशौ समक्षा बैठकको भारतीय पक्षको नेतृत्व भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासनका सह सचिव) ए. अजय कुमारले गर्नुभएको थियो । भारतीय पक्षबाट लाइफ अफ क्रेडिटको बैठकमा भारतीय राजदुतावासका प्रतिनिधि र एक्जिम बैंकका प्रतिनिधिहरु सम्मिलित भएका थिए भने नेपालका तर्फबाट नेपाल सरकारका अर्थ मन्त्रालयका सह–सचिव श्री कृष्ण नेपालले नेतृत्व गर्नुभएको थियो । नेपाली टोलीमा भारतीय लाइफ अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारी हरुको सहभागिता रहेको थियो ।

नेपाललाई उपलब्ध गराइएको लाइफ अफ क्रेडिट मार्फत भएका परियोजना लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गर्नुभएको थियो । साथै परियोजना कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएको प्रगतिको बैठकले समीक्षा समेत गरेको थियो । बैठकका लागि नेपाल आएका भारतीय टोलीले श्रावण २४ र २६ गते भारत सरकारको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण समेत गरेको थियो । भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलरभन्दा बढीको लाइफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइफ अफ क्रेडिट उपलब्ध गराइसकेको छ । लाइफ अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकताका आधारमा पूर्वाधार विकासमा लगानी गर्दे आएको छ । यसरी भारत सरकारबाट प्राप्त ऋण रकमबाट हालसम्म ४० वटा भन्दा बढी सडक परियोजना (११०५ किमी) सम्पन्न भएका छन् । ६ वटा जलविद्युत तथा प्रशारण लाइन र विभिन्न आवास तथा पुन ः निर्माण परियोजनाहरुमा खर्च भइसकेको छ । भारतीय राजदुतावासद्वारा शुक्रबार जारी विज्ञप्ती अनुसार कोशी करिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु करिडोर (१३२ केभी) र ढल्केबार–भिट्टामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रशारण पूर्वाधारलाई विस्तार गर्न मद्धत गरेको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ भेरि करिडोर, निजगढ इनरुवा, गण्डक नेपालगञ्ज प्रशारण लाइन र यी प्रशारण लाइनका शव स्टेशनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न पनि भारत सरकार सहमत भएको छ ।
