धरान । साउन महिनाको अन्तिम सोमबार धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिरमा जल चढाउने तथा पूजाआजा गर्नेको अत्याधिक भीड रहेको थियो । बोलबम शुरु भएदेखि नै मलमास भएकै कारण कम भक्तजन आएपनि श्रावणको अन्तिम सोमबार भने अत्याधिक भीड रहेको थियो । भीडकै कारण पिण्डेश्वर बाबाधाम समितिले व्यवस्थापनमा सक्रियता देखाएको थियो ।
पिण्डेश्वर मन्दिर धरान १४ बिजयपुर मा अवस्थित छ । पौराणिक कथा अनुसार देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको अमृतले भरिएको घडालाई दानवहरूबाट जोगाई यस स्थानमा ल्याई पु¥याएर शिवलिंगको रूपमा स्थापना गरेको भन्ने पुराण एवं धर्मशास्त्रमा व्याख्या गरिएको छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ । यस मन्दिरमा श्रावण महिना भरी चतराको कोशी नदीवाट स्नान गरी जल ल्याई चढाउनको लागि देश विदेशका लाखौं भक्तजनहरूको भिड लाग्ने गर्दछ । तर यस बर्ष मलबास भएका कारण विगतको बर्षको भन्दा यस बर्ष कम भक्तजन आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ ।

तर पण्डितहरुले भने मलवासका कारण अब आउने सोमबार अझ सुद्ध भएको बताएका छन् । यो सोमबार श्रावणको अन्तिम सोमबार भएपनि शिवको आराधना गर्ने राम्रो सोमबार अझै दुईवटा सोमबार परेकाले भदौमा पर्ने दुई सोमबार पनि बोलबमकै महिना भएकोले जल चढाएर पुण्य कमाउन सक्ने पण्डित एवम् पिण्डेश्वर क्याम्पसका उपप्राध्यापक दिपक पराजुलले बताउनुभयो ।
धरान १४ धार्मिक पर्यटकीय क्षेत्र भएको र बोलबमको समयमा अधिक भक्तजन आउने भएकोले यहाँको पिण्डेश्वर बाबाधाम समितिलाई अझ सहजताका लागि वडा कार्यालयबाट विभिन्न सहयोग पु¥याउदै आएको बताउनुभयो । वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले विभिन्न संघ संस्थासँग सहकार्य गरेर भक्तजनका लागि स्वास्थ्य, सुरक्षा, व्यवस्थित लाइन लगायतका सुविधाहरु प्रदान गरिएको बताउनुभयो । उहाँले विगतको बर्षभन्दा यस बर्ष कम भक्तजन आउनुमा यस मलमाससँगै धरानमा फैलिएको डेंगु संक्रमण पनि कारण भएको बताउनुभयो ।
विगतमा बोलबमका समयमा देश तथा विदेशबाट ५ लाख भक्तजनहरु पिण्डेश्वर मन्दिरमा जल चढाउन आउने गर्थे तर यस बर्ष भने २ लाख ५० हजार जति भक्तजनहरु बोलबम मेलामा आएको पिण्डेश्वर बाबाधाम समितिले जनाएको छ । भक्तजन कम आउनुको कारण भने मलमास र डेंगु सक्रमणको प्रभाव रहेको समितिले जनाएको छ ।
