धरान । धरानमा डेंगु संक्रमण रोगी दिनप्रदिन बढ्दै गएका छन् । कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु संक्रमण धरानमै रहेका छन् । धरानमा डेंगु संक्रमण अत्याधिक बढेकै कारण जिल्ला प्रशासन कार्यालय सुनसरीमा भएको सर्वपक्षीय निर्णयले धरानलाई ’जनस्वास्थ्यको आपतकालीन अवस्था’ (पब्लिक हेल्थ एमर्जेन्सी) घोषणा गर्नेे तयारी गरेको छ । धरानमा विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर राखिएका छन् तर ती सबै ठाउँमा बेड अभाव छ, एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नुपर्ने बाध्यता छ । धरानमा डेंगु संक्रमण बढेकै कारण स्थानीय सरकार तथा विभिन्न सामाजिक संघ संस्थाले स्वास्थ्य संस्थासँग सहकार्य गरेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । धरान उपमहानगरपालिकाले धरान ८ सभागृह र धरान १ पुरानो अस्पतालमा वेडसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको छ भने धरान १३, १४ लगायतका वडाहरुले आफै आधारभूत स्वास्थ्य केन्द्रमार्फत शिविर सञ्चालन गरेका छन् । यसैगरी सुनसरी उद्योग वाणिज्य संघले समेत निःशुल्क स्वाथ्य शिवर सञ्चालन गरेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड अस्पताललाई डेंगु उपचार केन्द्र बनाएर उपचार सेवा प्रदान गरे पनि त्यहाँ समेत चाप थामिनसक्नु रहेको छ । एउटा वेडमा दुई जनासम्म राखेर उपचार गराउन बाध्य रहेका छन् ।

अहिले प्रत्येक ठाउँमा सञ्चालन भएका डेंगु उपचार शिविरमा राखिएका वेडहरु खाली छैनन् । एउटा वेडमा दुई जनासम्म राखेर उपचार गर्नु परेको छ । धरान उपमहानगरपालिका वडा नं. १४ ले समेत आधारभूत स्वास्थ्य केन्द्रमा वेडसहितको उपचार केन्द्र सञ्चालनमा राखेको छ । तर यहाँ समेत विरामीको चाप अत्याधित्क भएकोले एउटा बेडमा दुई जना डेंगुका विरामी राखेर उपचार गराउन बाध्यता रहेको वडा सदस्य झरना मुखिया पौडेलले बताउनुभयो । यो क्रम बढ्दो छ । चिकित्सक तथा स्वास्थ्य परिचालकको संख्यामा जनशक्तिको समेत कमी छ । डेंगुका सामान्य विरामीदेखि सिकिस्त विरामीहरु उपचारमा आउने गरेको आधारभूत स्वास्थ्य केन्द्र धरान १४ की प्रमुख युनिसा खत्रीले बताउनुभयो । उहाँले चेकजाँचपछि डेंगु संक्रमण भेटिएमा निःशुल्क उपचार गरिदिने बताउनुभयो । वडा समितिको आधारभूत स्वास्थ्य केन्द्रमा चार वटा वेड राखिएका छन् । दिनमा २० जना भन्दा बढी डेंगु संक्रमणका विरामीहरु आउने गरेको वडा समितिले जनाएको छ । उपचारमा आएका विरामीलाई उपचार गर्न कठिनाई भएपनि जसोतसो व्यवस्थापन गरेर उपचार गरिरहेको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । विषम परिस्थितिमा बजेट अभावकै कारण सञ्चालन गर्न कठिनाइ भएको उहाँको भनाई छ । तर नेपाल बाहिर रहेका धरानबासी तथा स्थानीयहरुले साथ सहयोग गरेकै कारण सञ्चालन गर्न केही सहज भएको उहाको भनाई छ । अहिले पनि सहयोगी दाताहरुले निरन्तर सहयोग पु¥याइरहेका छन् । पछिल्लो समय धरान– १४ स्थित आइडल इंग्लिस बोर्डिङ स्कुलका शिक्षक, कर्मचारी, विद्यार्थीहरुले खाजा खर्च बापतको रकम कटौती गरेर डेंगु संक्रमितको उपचारकालागि वडा समितिलाई स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । मानवीय सेवाको लागि ४० हजार बराबरको स्वास्थ्य सामाग्री वडालाई विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले सहयोग गरेका थिए ।
