काँग्रेस कसैको प्राइभेट कम्पनी होइन अहिलेको अवस्थामा छोड्ने र भाग्ने काम नगरौ पात्र बिग्रियो भने पात्र बदल्नुपर्छ : प्रवृत्ति गलत भयो भने प्रवृत्ति बदल्नुपर्छ

धरान । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काँग्रेस कसैको प्राभइभेट कम्पनी नभएकोले अहिलेको अवस्थामा पार्टी छोड्ने र भाग्ने काम नगर्न आग्रह गर्नुभएको छ । पूर्व स्वास्थ्यमन्त्री समेत  रहनु भएका महामन्त्री थापाले शनिवार नेपाली काँग्रेस प्रतिनिधिसभा क्षेत्र तथा प्रदेश सभा क्षेत्र नं. १ (१) र १ (२) सुनसरी क्षेत्र नं. १ को संयुक्त सम्मेलनलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो । पछिल्लो केही महिना यता नेपाली काँग्रेसका प्रभावशाली युवाहरु नयाँ राजनीतिक दलहरुप्रति आकर्षित भई प्रवेश गर्ने लहरै चलेको प्रति संकेत गर्दै महामन्त्री थापाले पार्टीभित्र नेतृत्व प्रवृत्ति गलत भयो भन्दैमा छोड्ने् र भाग्ने काम गर्नुभन्दा पात्र बदल्ने र प्रवृत्ति बदल्ने कार्यमा सरिक हुनुपर्ने बताउनुभयो । विगत केही समय यता नेपाली काँग्रेसको वर्तमान नेतृत्वले संगठन विस्तारमा कुनै काम गर्न नसकेको, सरकारमा बसेर पनि कुनै स्मरणयोग्य कार्य गर्न नसकेको जस्ता आरोप लगाउँदै महामन्त्री थापा सहितको दोस्रो पुस्ताका नेताहरु महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौड्याल लगायतले नेतृत्व परिवर्तनको मुद्दालाई प्राथमिकताका साथ अगाडि सार्दै आएका छन् । उनीहरुले विशेष महाधिवेशनको मागसँगै भर्खरै मात्र पार्टी विधानले दिएको अधिकार प्रयोग गरी नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा जिल्ला सभापतिहरुको भेला समेत सम्पन्न गरेका थिए ।


नेपाली काँग्रेस आगामी २०८४ को आम निर्वाचनमा माटोमा मिल्छ भन्ने आफूले सुनेको भन्दै सांसद समेत रहनु भएका थापाले काँग्रेस कमजोर नहुने ठोकुवा गर्नुभयो । पार्टी सत्तामा भए पनि जन अपेक्षा बमोजिम काम गर्न नसक्दा कार्यकर्तामा नैराश्यता छाएको स्वीकार्दै अबका दिनमा जनताको मन जित्ने गरी सरकारले काम गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो ०८४ को निर्वाचनमा काँग्रेसले वहुमत ल्याएर सरकार बनाउँछ, यसमा कसैले द्विविधा नराखे हुन्छ । उहाँले भन्नुभयो विगतमा पनि काँग्रेसले धेरै सिट जित्न सक्दैन भन्ने हल्ला पिटाइयो तर निर्वाचनबाट काँग्रेस सबैभन्दा ठूलो राजनैतिक दलकै हैसियतमा स्थापित भयो । कुनै दल आउँदैमा काँग्रेस कमजोर नहुने उहाँको भनाई थियो । विगतको निर्वाचनले नेपाली काँग्रेसलाई अत्याधिक स्थानका स्थानीय निकायको प्रमुख र उपप्रमुखमा निर्वाचत गराएको दृष्टान्त दिँदै महामन्त्री थापाले वर्तमान अवस्थामा ७ प्रदेशमध्ये ४ वटामा काँग्रेसको मुख्यमन्त्री छन् । यद्यपि पार्टी सत्तामा भएको अवस्थामा आम कार्यकर्तामा निराशा छाएको उहाँले बारम्बार दोहो¥याउनुले वर्तमान सरकार गठनप्रति उहाँले असन्तुष्टि जाहेर गरेको प्रष्ट हुन्थ्यो ।महामन्त्री थापाले भन्नुभयो जनतालाई केन्द्रविन्दुमा राखेर सत्तामा छँदा शिक्षा, स्वास्थ्य, रोजगारका क्षेत्रमा देखिने गरी काम गर्न सके ०८४ को निर्वाचनमा काँग्रेसको जनलहरलाई कसैले रोक्न सक्दैन । उहाँले भन्नुभयो वर्तमान अवस्थामा पार्टीभित्रका केही उच्च पदस्थ नेताहरु भ्रष्टाचारको आरोपमा मुछिएका छन्, जेल गएका छन्, पार्टीभित्रैबाट कसैको गिराफ्तारीको माग उठिरहेको छ । तर यसले पार्टीलाई कुनै प्रभाव नपार्ने थापाको कथन थियो । उहाँले भन्नुभयो हामीले बारम्बार विधान अधिवेशनको माग गरेका छौं । विधान अधिवेशन भएमा पार्टीका भातृ संगठनहरु वर्तमान अवस्थामा झै नेतृत्वविहीन हुनुपर्दैन । नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङको सभापतित्वमा सम्पन्न सम्मेलनले १४ बुँदे घोषणापत्र समेत पारित गरेको थियो । जसमा सुन्दर, समुन्नत, समृद्ध धरानका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, व्यापारिक पूर्वाधार निर्माण गर्ने, रामधुनी नगरपालिकाको नगर विकासमा पहल गर्ने, धरानसँग सीमा जोडिएका नगरपालिकासँग सुमधुर सम्बन्ध स्थापित गर्ने, राज्यका स्रोत साधनमा समान पहुँच स्थापित गर्दै जातीय तथा वर्गीय विभेद, छुवाछुतको अन्त्य गर्ने लगायतका बुँदाहरु रहेका छन् ।
सो अवसरमा सांसद एवम् युवा नेता प्रदीप पौड्याल, कोशी प्रदेश् महामन्त्री उमेश थापा, नेपाल तरुण दलकी नेतृ लक्ष्मी खतिवडा लगायतले पनि आ–आफ्नो धारणा राख्नु भएको थियो भने सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधानले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया