धनकुटा–धरान एकता समाजको पदस्थापना तथा प्रमाणपत्र वितरण

धरान । गत जेष्ठ २० गते सम्पन्न धनकुटा धरान एकता समाजको प्रथम साधारणसभाबाट निर्वाचित पदाधिकारी हरुको पदस्थापना र आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार भएको पदाधिकारीहरुको पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रमा धनकुटाबाट धरान आई विभिन्न पेशा, व्यवसायमा संलग्न स्थायी बसोबास गर्ने धनुकुटेलीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । स्थानीय सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न पदस्थापना तथा प्रमाणपत्र वितरण कार्यक्रममा जेष्ठ २० गते आगामी तीन बर्षे कार्यकालका लागि निर्वाचित हुनु हुने अध्यक्ष गंगाप्रसाद रेग्मी, उपाध्यक्ष जयकुमार निरौला, सचिव राजकुमार थापा (राजु), सह सचिव नविन रेग्मी, कोषाध्यक्ष गौरी याख्खा, सदस्यहरु विनोद घिमिरे, श्याम कार्की, पूजा कर्मचार्य, राजेशमान श्रेष्ठ, दलबहादुर परियार, विविषा घिसिङलाई पदस्थापना गरिएको थियो भने समाजमा आवद्ध १२५ जनालाई आजीवन सदस्यताको प्रमाणपत्र नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुनिलबहादुर थापाले वितरण गर्नुभएको थियो ।


राष्ट्रपति रामचन्द्र पौड्यालको सल्लाहकार समेत रहनु भएका पूर्व मन्त्री सुनिल बहादुर थापाले धनकुटा धरान एकता समाजको पदस्थापना र आजीवन सदस्यतालाई प्रमाणपत्र वितरण गर्न पाउँदा आफूलाई गौरव अनुभूति भएको बताउनुभयो । उहाँले भन्नुभयो म पनि धनकुटाको नै हुँ । धनकुटा धरान एकता समाजको गठन आफैमा सकारात्मक कदम हो । आगामी दिनमा धनकुटा धरान एकता समाजले दुवै जिल्ला बीचमा पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउने तर्फ आफ्ना गतिविधिहरु अगाडि बढाउनु पर्नेमा थापाले जोड दिनुभयो । उहाँले भन्नुभयो आगामी दिनमा संस्थालाई आफ्नो तर्फबाट मन, बचन र कर्मले सक्दो सहयोग पु¥याउँछु । यसैगरि महेन्द्र वहुमुखी क्याम्पसका उपप्राध्यापक डा.जीवनकुमार राईले संस्थाले आफ्नो स्थापनाको छोटो समयमा उल्लेखीय कार्य गरेको बताउनुभयो । समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुसँग समन्वय  गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको दृष्टान्त दिँदै आगामी दिनमा त्यस प्रकारका कार्यलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो समाजले धरानमा मात्र नभएरधनकुटाका विकट र ग्रमीण क्षेत्रहरुमा शिक्षा, स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्न सकेमा समाजको सार्थकता थप अभिवृद्धि हुनेछ । प्रजातान्त्रिक विकास मञ्चको केन्द्रीय उपाध्यक्ष समेत रहनु भएका  राईले समाजका लागि आफ्नो तर्फबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता समेत दोहो¥याउनु भएको थियो । यसैगरि सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले समाजको गठन सकारात्मक सोचका साथ धनकुटाबाट धरान आई बसोबास गर्नु हुने बौद्धिक जमात, पेशाकर्मीबाट भएकोले आगामी दिनमा समाजले मानव हितका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रथम साधारण सभाको निर्वाचन अधिकृत समेत रहनु भएकी नेपाली काँग्रेसकी नेतृ एवम् धनकुटा धरान एकता समाजकी आजीवन सदस्य श्यामा रेग्मीले समाजको गठन नै सकारात्मक सोचका साथ भएकोले आगामी दिनमा यसका गतिविधि समेत समाजसेवा हुने प्रष्ट पार्नुभयो । धनकुटा धरान एकता समाजका अध्यक्ष गंगाप्रसाद रेग्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष जयकुमार निरौलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया