शाख र गरिमा जोगाउने कार्य गर्नु वेश

यतिबेला नेपालका न्यायालयहरु सबैभन्दा बढी आलोचित हुन थालेका छन् । न्यायालय शक्तिशाली व्यक्तिको पक्षपोषण र पहुँचवालाहरुको निर्देशनमा चल्ने गरेको भन्दै सर्वत्र आलोचना हुन थालेको छ ।
वास्तवमा अदालतमा पछिल्ला १०–१२ बर्ष यताका अदालती फैसला हेर्दा पनि त्यस्तै देखिन्छन् । हालैमात्र काठमाण्डौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले भारतीय चलचित्र आदी पुरुषमा माता सीता भारतमा जन्मिएको भन्ने कपोलकल्पित संवादलाई लिएर चलचित्र प्रदर्शनमा रोक लगाए । उनले त्यसमा भएको विवादास्पद अभिव्यक्तिलाई सच्याउन तीन दिनको समय सीमा समेत दिए । तर निर्माण कम्पनीले उक्त संवादलाई सच्याउनुको सट्टा सन् १९०३ सम्म नेपाल भारतकै अभिन्न अंग थियो । त्यसपछि नेपाल अस्तित्वमा आएको भन्दै सामाजिक सञ्जालमा अर्को विवादास्पद अभिव्यक्ति दिए ।
यी दुवै घट्ना क्रमको नेपालमात्र नभएर भारतमै समेत चर्को आलोचना भयो । चलचित्र निर्माता र त्यसको कथा लेखकलाई सामान्य इतिहास समेत जानकारी नभएको पक्कै होइन होला । जानाजान चर्चामा ल्याउन चलचित्र निर्माताहरुले त्यस प्रकारको संवाद र अभिव्यक्ति दिएको हुनुपर्छ । प्रमुख बालेनले राष्ट्र, राष्ट्रियताको सवालमा आफू सदैव लाग्ने भन्दै चलचित्रलाई प्रदर्शनमा रोक लगाएपछि हल सञ्चालकहरु अदालत पुगे । अदालतले वास्तविकता नै नबुझी या हल सञ्चालकहरुको प्रभावमा परेर चलचित्र चलाउन दिनु भन्ने जनअपेक्षा विपरीतको फैसला दियो । यसले मेयर बालेन साहलाई थप आक्रमक बनाउनु स्वभाविक हो । उनले अदालतको निर्णय पश्चात सामाजिक सञ्जाल ट्विटरमा आफ्नो धारणा सार्वजनिक गरे । उनले ट्विटरमा भनेका छन् जहाँ सवाल देशको सार्वभौविकता र स्वाधिनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेकखकले नेपाल  भारतको अधिानमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुझिन्छ । यसको लागि जुुनसुकै सजाय भोग्न म तयार छु तर फिल्म चल्दैन र चल्न दिने छैन । यो मामलामा अदालत र सरकार चुकेकै हो भन्दा अतिशयोक्ति नहुन सक्छ । एउटा स्थानीय निकायको प्रमुख सार्वभौमिकता र स्वाधिनताको सवालमा यति संवेदनशील हुँदा मुलुककै बागडोर सम्हालेर बसेको सरकार रमिते भएर बस्न पक्कै सुहाउँदैन । सरकारले एउटा कुटनीतिक नोट सम्म पठाउन सक्थ्यो । उसले त्यो सम्म गर्न सकेन । भारतका आम नागरिकलाई थाहा छ, सकारलाई थाहा छ जानकी अर्थात सीता नेपालमा जन्मिएकी हुन् । हिन्दुधर्म ग्रन्थहरुमा स्पष्ट उल्लेख गरेका छन् । यो सास्वत सत्यलाई कसैले नकार्न सकेको अवस्था छैन । यति हुँदाहुँदै पनि एउटा चलचित्रमा त्यसखालको अभिव्यक्ति दिनु, संवाद राख्नु कत्तिको उचित हो ? आज बालेन्द्र साहले गरेको निर्णय देशका अन्य स्थानीय निकायहरुले पनि लागू गरेका छन् । धरान उपमहानगरपालिकाका प्रमुख, पोखरा महानगरपालिकमा प्रमुखहरुले पनि चलचित्र चल्न नदिने निर्णय गरेका छन् भने दर्शकहरुले आफै बहिष्कार गरेका छन् ।

तपाईको प्रतिक्रिया