धरान/शब्द र प्रवृत्तिमै क्रान्तिको आगो ओकल्ने अनि विगतको
निरकुंशताले समेत गलाउयन नसकेको एउटा अजीर्ण, अटल एवम् खरो पात्रको रुपमा कविता साहित्य क्षेत्रमा सधै आफूलाई उभ्याउन सफल कवि बम देवान लामो अन्तरालपछि आगाको खेती लिएर आइपुगेका छन् ।
अर्थात लामो समयदेखि ओस्सिएका बम आफ्नो उही प्रवृत्ति, उही चरित्र र उही भावभंगिमा कविता साहित्यमा पाठकबीचमा फर्किएका छन् । कविता साहित्यका पाठकबीच लामो समय एक प्रकारले गुमनाम झै भएका देवान कतिपय पाठकको मानसपटलबाट ओझेलमा परिसकेका थिए ।
सारमा भन्नुपर्दा कवि देवान चारदशकपछि आफ्नो दोस्रो कवितासंग्रह लिएर आएका हुन् । जनमैत्री
परिवर्तनशील संस्था नेपाल (जेपी) धरान सुनसरीले कवि देवानको कविता संगह प्रकाशित गरेपछि उनी ताजा भएर आएका हुन् । समालोचक प्रा.डा टंक न्यौपानेकै शब्दमा भन्नुपर्दा वि.सं. २०२६/२७ सालदेखि देवान कविता क्षेत्रमा प्रवेश गरे तापनि वि.सं. २०२९ सालदेखि उनको कवि व्यक्तित्व प्रसारित र आकर्षित हुन थालेको हो । २०३० को दशकमा तत्कालिन मालेको राजनैतिक प्रभाव परेपछि बम देवानको क्रान्तिकारी गीत र रचनाहरुले यस क्षेत्रमा जनवादी चेतनाको विजारोपण र अंकुरणका लागि लेनिनले भनेजस्तै ठूलो हतियारको काम गरेको थियो ।
प्रकाशित संग्रह गत शनिवार एक औपचारिक कार्यक्रमका बीच विमोचन भएको थियो । प्रकाशित कविता संग्रहमा २७ वटा कविताहरु अटाएका छन् । कवि देवानकै शब्दमा भन्नुपर्दा हाल प्रकाशित कविता संग्रंह वि.सं. २०३५ सालमै प्रकाशनका लागि तयार थियो । तत्कालीन असहज परिस्थितिमा जनताको धुकधुकीलाई आक्रोसित बनाउने कविताको संग्रह प्रकाशित गर्न सम्भव थिएन । कविताको पाण्डुलिपी नै जोगाउन हम्मे हम्मे परेको थियो । तत्कालीन राज्य सत्ताले पाण्डुलिपी नै हत्याउने प्रयास गरेको थियो । हुन त हाल प्रकाशित देवानका कविताले तत्कालीन राज्य सत्ताको भस्मीकणको विजारोपण गरेको छ भने वर्तमानलाई समेत झटारो हान्न छोडेको छैन । मुलत कवि देवानले वि.सं. २०३० साल यता लेखिएका कविताहरु संग्रहमा समेटेका छन् । आज भन्दा चार दशक अगाडि ३० कै दशकमा कवि देवनाले हाम्रो गीत हाम्रो आवाज कविता संग्रह प्रकाशित गरी तत्कालीन राज्य सत्ताका विरुद्ध व्रम्हास्त्र प्रहार गर्नुभएको थियो । जसका कारण उहाा तत्कालीन शासकका आाखामा अपाच्य र क्रान्तिकारी पात्र सावित हुनु भएको थियो । हाल प्रकाशित कृति उनको दोस्रो कविता संग्रह हो ।
समाजलाई जागरुक बनाउन, तत्कालीन शासकका विरुद्ध द्वेष, घृणा र उत्तेजना फैल्याउन उनैले छदम नामको समेत सहारा लिनु परेको थियो । दर्शन राई यही थियो त्यो समय बम देवनकी छदम नाम । समालोचक प्रा.डा टंक न्यौपाने भन्नुहुन्छ तत्कालीन अवस्थामा राजनैतिक कारणले दर्शन
राई छद्धम नामले कविता प्रकाशित गरेपनि वैयक्तिक जीवनमा धेरै आरोह, अवरोह भएका कारण हराउनै लागेका बम देवान आज आफ्नो सक्कली नामले देखा परेका छन् । प्रा.डा न्यौपानेको कथन छ, देवानका सबै कविताहरुमा शब्दको विशिष्ट चयन छ, उपयुक्त ठेट शब्दहरुले सौन्दर्य छरेको छ । कवितामा समानन्तर पनि छ, एकै भावलाई विभिन्न शैलीमा अभिव्यक्त गरिएको छ । न्यौपाने थप्छन् बल्ल बम देवानको कविताको पुनरागमन भएको छ । समालोचक न्यौपानेका यी भनाई त्यसै आएका होइनन् । बमका कविता कालजयी भएकैले आएका हुन् ।
संगीत नाट्य प्रतिष्ठानका प्राज्ञ
रमेश रन्जन झाले देवानका कविता संग्रह लोकार्पण गरेका थिए भने भवानी बराल, गोपाल देवान, डा.गोपाल भण्डारी लगायतले टिप्पणी गरेका थिए ।
