धरान । प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने भारतको औपचारिक भ्रमण नेपालको हितमा थप मार्ग प्रसस्त भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यपूर्ण निमन्त्रणमा जेष्ठ १७ गतेदेखि भएको भ्रमणलाई लिएर एकथरिले भ्रमण सद्भावमै सीमित रहेको पूर्वाग्रही टिप्पणी गरेर आत्मरतिमा रमाएको देखिए भने अर्काथरिले भ्रमण उपलब्धीमूलक रहेको, थप मार्गहरु प्रसस्त भएको धारणा व्यक्त गरेका छन् । गत बुधबार दिल्ली पुग्नु भएका दाहाललाई भेट्न होटल आइटिसी मौर्यामा भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री विनय मोहन क्वात्रा पुग्नु भएको थियो । त्यसपछि प्रधानमन्त्री दाहालको थप भेटघाट, विषय वस्तुमाथिको छलफल, सहमति र सम्झदारीहरु अगाडि बढेका थिए । यी यावत विषयहरुमा भ्रमणका क्रममा उच्च स्तरीय सहमति भएका छन् । आधा दर्जन भन्दा बढी विषयमा तत्काल सहमति हुनु भ्रमणको महत्वपूर्ण उपलब्धीका रुपमा लिइएको छ ।

ऊर्जा तथा जलविद्युत विकास, पेट्रोलियम पाइप लाइन विस्तार, एकीकृत जाँच चौकी विस्तार, डिजिटल पेमेन्ट सम्झौता, रेल्वे सम्झौता, नेपाल भारत पारवहन सम्झौता नविकरण आदि रहेका छन् । नेपाल भारत पारवहन सम्झौता नविकरण दुवै देशबीचमा प्रत्येक बर्ष हुँदै आएको छ । यसैगरि सीमापार पेट्रोलियम पाइपलाइन विस्तार अर्को महत्वपूर्ण पाटो भएको छ । सो पाइप लाइनलाई चितवनसम्म विस्तार गर्ने, सिलिगुडीबाट नेपाल आयल निगमको डिपो रहेको स्थान झापाको चारआलीसम्म विस्तार गर्ने सम्झौता भएको छ । यी दुवै पेट्रोलियम पाइप लाइन विस्तार भएमा लागत, ढुवानी र समयको बचत हुने अर्थविद्हरुले बताएका छन् । यसैगरि नेपालको सुदुर पश्चिमको अर्थात महाकाली पारिका दुईवटा स्थानीय निकाय चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्ने, तल्लो अरुणको पिडिए तयार गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतकी पूर्व मन्त्री सुष्मा स्वराजको नाममा स्थापना भएको सुष्मा स्वराज इस्टिच्युट बीचमा आगामी दिनमा सहकार्य गरेर काम गर्ने, फुकोट कर्णाली भारतीय कम्पनीले निर्माण गर्ने लगायतका सम्झौता भएका छन् । यसका अलावा नेपालको जलविद्युत आयोजनामा अरबौ रुपैयाँ लागनी जोखिम मोलेरकाम गर्दै आएकाहरुलाई प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा जलविद्युत व्यापारमा भएको सम्झौताले उत्साहित बनाएको छ । नेपालमा उत्पादित विद्युतको मुख्य बजार भारत नै हो । यसका लागि नेपालका तर्फबाट भारतसँग विद्युत खरिद सम्बन्धी दीर्घकालीन योजना बनोस् भन्ने थियो । यसपटक नेपालको उक्त योजना पनि सफल भएको छ । भ्रमणका क्रममा भारतसँग नेपालले २५ बर्षको विद्युत खरिद सम्झौता गरेको छ । अर्कोतर्फ नेपालको सर्वाङिर्ण विकासलाई मध्यनजर गरी भारतले नेपालबाट बंगलादेश विद्युत निर्यातमा प्रशारण लाइन विस्तारमा सकारात्मक देखिएको छ । यहाँ अर्को महत्वपूर्ण उपलब्धी नेपालका लागि के भएको छ भने नेपाल र भारतका बीचमा विद्युत व्यापारका लागि महत्वपूर्ण मानिएको बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको दुवै देशका प्रधानमन्त्रीले दिल्लीबाटै एकैसाथ शिलान्यास गर्नुभएको थियो । भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगर रेलमार्गको उद्घाटन, नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीको उद्घाटन, वैतडीको झुलालघाटमा दुईवटा मोटेरेवल पक्की पुल निर्माण गर्ने, भैरहवामा निर्माण हुने एकीकृत जाँचचौकीको शिलान्यास समेत गर्नुभएको थियो ।
