काण्डै काण्डमा मुछिएको सरकारबाट के अपेक्षा गर्ने ?

नेपालमा जति पटक व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था कहिल्यै परिवर्तन भएन । हरेक पटक भएका व्यवस्था परिवर्तनका आन्दोलनमा नागरिकले उत्साहपूर्ण सहभागिता मात्र जनाएनन् मृत्युलाई समेत वरण गरे । व्यवस्था परिवर्तन पश्चात एउटा टाठा–बाढा वर्गको मात्र अवस्थामा नाटकीय परिवर्तन भयो भने अन्य सबैको अवस्था झन झन विकराल बन्दै गयो । विगत ३०–३५ बर्षदेखि दलीय आवरणमा एकै प्रकारका अनुहारहरुको  राज्य सञ्चालनमा हालीमुहाली रहँदै आयो । उनीहरुको दैैनिकी विगतको तुलनामा अकल्पनीय परिवर्तन भयो ।
हिजो झुत्रा मयल परेका कपडा लगाएका उनीहरु अहिले सामान्य चिया पसलमा बस्दैनन्, सार्वजनिक यातायातको साधनमा बसेर उनीहरुलाई यात्रा गर्दा इज्जतको डर भयो, सामान्य घरमा उनीहरु बस्न छोडेको तीन दशकक भन्दा बढी भयो, लाखौ पर्ने नीजि सवारी साधन बिना उनीहरु हिँड्दैनन् । एउटा वर्गको रातारात अवस्था परिवर्तन हुँदै जाने अनि अर्को वर्गको स्वखलित हुँदै गएपछि वर्ग विभेदको द्वन्द्व अब नेपालमा शुरु हुने निश्चित छ । आज नेपाली जनता श्रीलंकाली जनता झै आँटिला हुन्थे भने व्यक्ति मोटाउने र मुलुक भासमा जाँदै गर्ने अवस्थालाई टुलुटुलु हेरेर बस्ने थिएनन् । घर घरबाट ती नव सम्भ्रान्न्तहरुलाई तानेर सडकमा पछार्ने थिए । तर जेहोस् ढिलै भएपनि तथाकथित दलभित्र विद्रोह शुरु भएको छ । यतिबेला नेपाली काँग्रेसभित्र, नेकपा एमालेभित्र जसरी पहिरो जाँदै छ त्यसैले आगामी दिनमा कुन हदसम्म राजनैतिक अवस्था परिवर्तन उन्मुख हुन्छ भन्ने अनुमान लगाउन गाह«ो छ । धेरै बर्ष पुरानासँग आशा गरेर बसेकाहरुको अब धैर्यताको बाँध फुटेको छ । खासमा २०४६ सालको जन आन्दोलनका घटक नेपाली काँग्रेस र एमाले बीचमा पार्टी परित्याग गर्नेहरु अधिक देखिएका छन् । माओवादीको त गणनै हुँदैन । अप्राकृतिक गठबन्धनबाट उसले हालसम्म आफूलाई अस्तित्वमा
राख्न सफल भएको मात्र हो । काँग्रेस र एमालेका इमान्दार, पार्टीमा बर्षौसम्म योगदान दिएकाहरु एकाएक नयाँ राजनैतिक पार्टीमा प्रवेश गरिरहेका छन् । यसको प्रमुख दोस्रो कारण भनेको गुट वा उपगुटको राजनीति । केन्द्रीय नेतृत्वको निकट भएकाहरुले आफूलाई स्थानीय स्तरमा शक्तिशाली देखाउने, अवैध असुली धन्दा चलाउने, आफ्नै कार्यकर्ताहरुको मान मर्दन गर्ने, अग्रजहरुको सम्मान नगर्ने, एक भन्दा ज्यादा पद आफूले मात्र ओगट्ने जस्ता जुन प्रवृत्ति मौलाएको छ त्यसैको प्रतिकार वा विद्रोह हो दलीय परिवर्तन । यसमा केन्द्रीय नेतृत्वको आचरणले पनि धेरै हदसम्म काम गरेको छ । केन्द्रीय नेतृत्व आफ्ना परिवार, आफन्त, नातागोताको संरक्षण, अर्थोपार्जन लगायतका कुरामा मात्र केन्द्रित हुँदा यतिबेला पार्टी  परित्यागको लहर मुलुकभरि एकसाथ देखिएको हो ।

तपाईको प्रतिक्रिया