चालु आर्थिक बर्षको अन्त्यसम्ममा ट्रयाक खोलिसक्ने आयोजनाको लक्ष्य वहु प्रतिक्षित ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडकको ट्रयाक खुल्न ५ सय मिटर बा“की

ताप्लेजुङ (फुङलिङ) । कोशी प्रदेशस्थित चीनसँग सीमाना जोडिएको ताप्लेजुङ ओलाङचुङगोला टिप्तला भन्ज्याङ सडकको ट्रयाक खुल्न अब ५ सय मिटर मात्र बाँकी रहेकोे छ । उत्तर दक्षिण लोकमार्ग ओलाङचुङगोला सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले हाल ट्रयाक खोल्ने काम धमाधम भइरहेको जानकारी दिनु भएको छ । सुकेपानीमा रोकिएको ट्रयाक अब यही अषाढ मसान्त सम्ममा खुलिसक्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो सकभर हाल समाचार नआएकै वेश हुने थियो । ट्रयाक खुलिसकेपछि आउँदा अर्कै मजा हुने थियो । ्यद्यपि उहाँले भन्नुभयो चीनसँग सीमा जोडिएको उत्तरी सीमावर्ती गाविस फक्तालुङ वडा नं. ६ लेलेपको अन्तिम विन्दु सुकेपानी हो । उहाँले भन्नुभयो जेष्ठ १ गते म आफै सुकेपानी पुगेर स्थलगत निरीक्षण गरेको थिएँ । ट्रयाक खुल्न बाँकी रहेको सडक नापजोख गरेर फर्किए । आयोजना प्रमुख खडकाले भन्नुभयो अब पूरै ट्रयाक खुल्न धेरै समय लाग्दैन । आषाढ अन्तिम सम्ममा हालकै गतिमा काम भएमा ट्रयाक खुल्छ । ट्रयाक खुल्न बाँकी रहेको ५ सय मिटर भित्र तीन ठाउँमा अत्यन्तै कडा चट्टान रहेको छ । २०÷२० मिटरको दूरीमा रहेको ती कडा चट्टान फुटाउने काम भइरहेको छ । अन्य ठाउँमा भने अन्यत्र झै सामान्य रहेको छ ।


सुकेपानी लेलेप भन्दा अगाडि फक्तालुङ गाउँपालिका वडा नं. ७ स्थित ओलाङचुङगोला रहेको छ । व्यवसायिक दृष्टिले समेत महत्वपूर्ण मानिएको ओलाङचुङगोलामा ६० घरधुरी रहेका छन् । सुकेपानीको ५ सय मिटर सडकको ट्रयाक खुल्नासाथ नेपाल चीन सीमानाका टिप्तला भन्ज्याङसम्म यातायात सञ्चालन हुनेछन्, प्रमुख खड्काले् भन्नुभयो् । अघिल्लो बर्षको चैत्र सम्ममा सुकेपानीमा १.५ किमी सडकको ट्रयाक खुल्न बाँकी रहेको थियो । उत्तर दक्षिण लोकमार्ग ओलाङचुङगोला सडक आयोजना र निर्माण कम्पनी एविए एलाइट जेभीले ट्रयाक खोल्नका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ, उपकरण कार्यस्थलमा भण्डारहण गरेका थिए । तर केही  कारणले गर्दा विगतमा काम अगाडि नबढ्दा एलाइट जेभिका निर्माण सामाग्री त्यसै थन्क्याउनु परेको थियो, साइट इन्जिनियर राजिव लामिछानेले बताउनु भएको थियो । उहाँले भन्नु भयो, उपकरण थन्किएको मात्र थिएन ५० औ जना कामदारहरु समेत त्यसै बस्न बाध्य भएका थिए । चीनसँग सीमा जोडिएको टिप्तला भन्ज्याङबाट ओलाङचुङगोला सम्मको दूरी २४ किमी रहेको छ । ओलाङचुङगोलाबाट सुकेपानीसम्मको दूरी ८ किमी रहेको छ । यो सडकको ट्रयाक विगतमा चीनको डिङजे काउन्टीबाट निर्माण सामाग्री, चिनियाँ मजदुरको सहयोगमा खुलेको हो । टिप्तला भन्ज्याङदेखि सुकेपानीसम्मको दूरी ३२ किमी रहेको छ । यो सडक पूरा भएपछि टिप्तला भन्ज्याङबाट मोरङको रानी विराटनगर तमोर करिडोर भएर ३४० किमी मात्र दूरी हुने छ ।

तपाईको प्रतिक्रिया