धरान । हिन्दु सनातन धर्मालम्बीहरुका यस्ता धेरै पर्वहरु झन जुन प्राय : लोप हुने अवस्थामा छन् । यस्ता पर्वहरु पुस्तान्तरण हुन नसक्दा लोप हुने अवस्थामा पुगेका हुन् । धरान १४ विजयपुरका बासिन्दाहरुले भने बर्षमा एक पटक शनिवार पारेर सन्सारी पूजा गर्ने गरेका छन् । यस दिन विजयपुरका नाम चलेकामात्र हैन ओझेलमा परेका सबै मन्दिरको पूजाआजा गर्ने प्रचलन रहेको छ ।
खडेरी नपरोस, अन्नबाली राम्ररी सप्रियोस, सबैलाई सुख शान्ति मिलोस् भन्ने अभिप्रायल बर्षेनी गरेको यो पूजामा विजयपुरका स्थानीयहरु स्वस्फूर्त रुपमा सहभागी हुने र प्रसाद ग्रहण गर्ने गर्छन् ।
सामुहिक रुपमा गरिने यो पूजामा घरघरबाट सहयोग जुटाउने गरिएको छ ।

सन्सारी पूजा गर्दा भोग चल्ने र नचल्ने दुई प्रकारका मन्दिरमा छुट्टाछुटटै पूजा गर्ने गरिएको सन्सारी माई पूजाका पूजारीका काम गदै आएका डम्बरबहादुर आले बताउनुहुन्छ । यो दिन विजयपुरमा भएको देवी देवताको पूजा गरिन्छ, बलि खाने ठाउँमा बलि दिइन्छ, नखाने ठाउँमा फूल अक्षता नरिवल लगायत चढाइन्छ । उहाँले पण्डेश्वरी, दन्तकाली, पञ्चकन्या, बुढासुब्बालगायत विजयपुरमा भएका सबै देवी देउतालाई पूजाआजा गरिसकेपछि डोलीमा घोटा बनाएर पञ्चकन्या मन्दिर छेउको डाँडामा पूजाआजा पुगेर पूजा गरिने र बेलुका बुढासुब्बा मन्दिरमा प्रसादको रुपमा ग्रहण गर्ने गरेको बताउनुभयो ।
उहाँले विजयपुरमा प्रचलित मन्दिरबाहेक धेरै मन्दिर चर्चामा नभएको बताउदै चर्चामा नभएको गादी गणेश, पाचभाई मन्दिर जसको नाम समेत धेरैले नसुनेको बताउदै बर्षमा एक पटक सन्सारी पूजाका दिन भने यी सबै मन्दिरमा पूजाआजा गरिने बताउनुभयो । आफूले चालपाए देखि नै बर्षमा एक पटक शनिवार पूजा गरिदै आएको बताउदै अन्नबाली सप्रियोस्, रोगव्याधी नलागोस्, सबैलाई सुख शान्ति मिलोस् भन्ने कामनाले यो पूजा गर्ने गरिएको पूजारी आले मगर बताउनुहुन्छ । यो दिन विजयुरको दन्त काली मन्दिरमा बोका र बुढासुब्बा मन्दिमा भालेको बलि दिने प्रचलन रहेको छ । सदियौदेखि प्रचलनमा आएको सन्सारी पूजा लोप हुन नदिन अहिले उनीहरुले पुस्ता हस्न्तान्तरणलाई समेत जोड दिएका छन् ।
