धरान । पछिल्लो समय ग्र्राहकहरुले राखेको पैसा बैंकबाटै हराउन थालेको छ । इटहरीको एभेरेष्ट बैंक र धरानको नविल बैंकबाट रकम हराएबाट सर्वसाधारण बैंकमा राखेको रकम असुरक्षित हुने कि भन्ने कुरामा सर्वसाधारण सशंकित बनेका छन् । धरान उपमहानगरपालिकामा शाखाको रुपमा सञ्चालित नविल बैंकबाट खातामै राखेको रकम हराएको भन्दै पीडितले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् ।

बैंकको धरान शाखामा रहेको सारदा राई र श्याम थुलुङको खातामा भएको रकम हराएको भन्दै इलाकामा उजुरी दिएका हुन् । पीडित शारदा राईले खातामै राखेको रकम निकाल्न खोज्दा व्यालेन्स नभएको बताउनुभयो । उहाँले भन्नुभयो ‘नविलमा मेरो नाममा रहेको ६६ हजार ३ सय ५० रुपैया नगद हराएको छ, दुःख गरेर जम्मा गरेको रकम फिर्ता हुनुपर्छ, चोरी भएको विषयमा अनुसन्धान गरी कारबाही होस् भनेर इलाका प्रहरी कार्यालय धरानमा उजुरी समेत हालेका छौं ।’ अर्का पीडित श्याम थुलुङले नविल बैंकमा रहेको आफ्नो खाताबाट ८० हजार रुपैयाँ चोरी भएको बताउनुभयो । उहाँले भन्नुभयो ‘मैले नविलमा ८० हजार रुपैया राखेको थिएँ, वैसाख ३१ गते नै रकम हराएको रहेछ, इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएको हालेको छु, रकम फिर्ता हुन्छ र चोरी गर्नेलाई कारबाही हुन्छ भन्ने मलाई विश्वास छ ।’ पीडितहरुका अनुसार उनीहरुलार्ई अपरिचित व्यक्तिले बैंकबाट फोन गरेको भन्दै खाता मागेका थिए । यस विषयमा नविल बैंक धरान शाखाका प्रवन्धक उज्वल भण्डारीले ठगी धन्दा गर्नेहरुले यस्तो गरेको् बताउनुभयो । उहाँले वैंकको कर्मचारी नभएर नक्कली बैंकको कर्मचारी बनेर ग्राहकलाई फोन गरी खाता नम्बर मागेर ह्याक गरेर रकम निकालेको हुनसक्ने बताउनुभयो । यस विषयमा बैंकमा पनि अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ग्राहहरुको रकम हराएपछि नविल बैंक गम्भीर भएको छ, रकम ह्याक गरी ठगि गर्नेलाई पत्ता लगाउन बैंकको केन्द्रीय कार्यालयबाट पहल भइरहेको छ ।’ ्इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले ग्रााहहरुले रकम हराएको विषयमा उजुरी दिएका कारण यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो । यता एभरेष्ट बैंक इटहरी शाखाबाट ग्राहकको डेढ करोडभन्दा बढी रुपैयाँ ठगी गर्ने म्यानेजरसहित ९ जना कर्मचारीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ । ग्राहकको रकम ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा एभरेष्ट बैंक इटहरीका शाखा प्रमुख म्यानेजर सिन्धुपाल्चोक घर भएका बिश्वराज शाक्यसहित कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी राजकुमार राईले बताउनुभयो ।
एभरेष्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना ग्राहकको बैंक खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ रकम ठगी गरेको पाइएकाले उनीहरूलाई पक्राउ गरिएको डीएसपी राईले बताउनुभयो ।
