विज्ञापन बोर्डले निर्णय नसच्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी

धरान । नेपाली सञ्चार माध्यमहरुलाई बर्गीकरणको  आधारमा उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन स्थागित गर्ने विज्ञापन बोर्डको निर्णय तत्काल सच्याएर निरन्तर रुपमा विज्ञापन वितरणको व्यवस्था मिलाउन नेपाल प्रेस युनियन केन्द्रीय समितिले विज्ञापन बोर्ड र नेपाल सरकार समक्ष आग्रह गरेको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा आइतबार जारी विज्ञप्तीका अनुसार विज्ञापन बोर्डले तत्काल निर्णय नसच्याए आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएको छ ।


नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौड्यालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ सञ्चार माध्यमहरुलाई नेपाल  सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा समानुपातिक रुपमा वितरण गर्न स्थापना भएको विज्ञापन बोर्डले छापा माध्यमलाई प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापनवापतको रकम अपुग भएको कारण देखाउँदै कटौती गर्ने मनशायले सूचना प्रकाशित गरेको प्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ विज्ञापन बोर्डले जेष्ठ १५ गतेसम्म लोककल्याणकारी विज्ञापन प्रकाशनको मात्र भुक्तानी गरिने भनी सूचना प्रकाशित गरेको छ । सञ्चारमाध्यमलाई सरकारको तर्फबाट नियमित रुपमा प्रदान गर्दै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्ने निर्णय खेदजनक छ । सरकारको यो ेनिर्णय नेपाली सञ्चार माध्यमले मुलुकको राजनीतिक परिवर्तन गर्न, सुशासन कायम गर्न, विचार निर्माण, चेतना अभिवृद्धि गर्न गरेको योगदानको अवमूल्यन हो भन्ने प्रेस युनियनको ठहर छ । विज्ञापन बोर्ड गठन भएपछि सञ्चारमाध्यमलाई थप सहयोग र सहजीकरण हुने अपेक्षा गरिएको थियो । सञ्चार माध्यमलाई दिँदै आएको लोककल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउनुको साटो बोर्डले विज्ञापन भुक्तानी गर्दा ३ प्रतिशत रकम कटौती गर्ने गरेको र भुक्तानी झन्झटिलो भएको समेत सञ्चारमाध्यमहरुले गुनासो गर्दै आइरहेका छन । सञ्चार माध्यमका लागि काम गर्ने अपेक्षा गरिएको बोर्डबाट सञ्चार क्षेत्रलाई नै प्रतिकूल हुने निर्णय तत्काल सच्याएर निरन्तर रुपमा लोककल्याणकारी विज्ञापन वितरणको व्यवस्था मिलाउन नेपाल प्रेस युनियन विज्ञापन बोर्ड र नेपाल सरकार समक्ष आग्रह गर्दछ । साना लगानी तथा स्वरोजगारमूलक सञ्चार माध्यमको हित विपरीत विज्ञापन कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन समेत युनियनले चेतावनी दिएको छ ।

तपाईको प्रतिक्रिया