भुटानी शरणार्थी प्रकरण पश्चात पुराना राजनैतिक दल नागरिकबाट पूरै नांगिए

धरान । प्रजातान्त्रिक आन्दोलनमा होमिदा वि.सं. २०४५ सालमा भुटानबाट विस्थापित भई पूर्वी नेपालको झापा, मोरङका विभिन्न स्थानमा शरणार्थीको रुपमा बस्दै आएका नेपाली मुलका भुटानी शरणाथीैहरुलाई तेस्रो मुलुक पुनस्र्थापना गर्ने क्रममा नेपालीलाई नै शरणार्थी बनाउने खेलसँगै यतिबेला यो प्रकरणले मुलुक र मुलुक बाहिर व्यापक चर्चा पाएको छ । अमेरिका, अस्ट्रेलिया, क्यानाडा, बेलायत लगायतका देशमा भुटानी शरणार्थीहरुलाई पुन ः स्थापना प्रक्रियामा नेपालीहरुलाई भुटानी नागरिक बनाई लाखौ रकम असुलिमा नेपालका राजनैतिक दलका उच्च पदस्थहरुकै संलग्नता धमाधम पुष्टी हुँदै गएको छ । यसले आम नागरिकमा एक प्रकारको दलप्रतिको घृणा र वितृष्णा पैदा भएको छ । नागरिकहरुमा देखिएको घृणा र वितृष्णाले ठूला राजनैतिक दलहरुका नेतृत्वको राजनैतिक भविष्य भष्मिभूत बनाएको छ ।
प्रारम्भमा सुजाता कोइराला उपप्रधान तथा पर्यटन तथा नागरिक उड्ययन मन्त्री हुँदा स्वकीय सचिव रहेका भनिएका सानु भण्डारी, केशल दुलालको नाम यस प्रकारणमा जोडियो । तर प्रहरीले अनुसन्धानलाई तिब्र बनाउदै गएपछि एमालेका सचिव टोपबहादुर रायमाझी, रामबहादुर थापा, थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई , पूर्व गृहमन्त्री बालकृष्ण खाँड, नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमति आरजु राणा, बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँड, गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे, बालकृष्ण पन्थीको संलग्नता देखिएको छ । एक जना शरणार्थी सूचिमा सूचिकृत गरेवापत ५० लाख सम्म असुल गरेको पाइएको छ । हाल पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, इन्द्रजीत राई लगायत आधा दर्जन पक्राउ पष्रेका छन् भने मञ्जु खाँड लगायत आधा दर्जन भागेर तेस्रो मुलुक पुगेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा एकथरि कम पहुँच भएकालाई कारबाही गर्ने र अर्को थरि पहुँच भएकालाई उन्मुक्तिको चलखेल शुरु भएको छ । एकथरि राजनैतिक पार्टी निकट रहेका झोलेहरु शेरबहादुर देउवाकी पत्नी आरजुको संलग्नता नभएको भन्दै उफ्रन थालेका छन्े भने आम नागरिक, सामाजिक अभियन्ता र देउवा निकटका सांसदहरु दोषी कसैलाई पनि उन्मुक्ति पाउन हुँदैन भनेर नेतृत्वलाई चेतावनी दिइरहेका छन् । यस पटक हामीले नक्कली भुटानी शरणार्थी प्रकरणले निम्त्याएको राजनैतिक उछाल र संलग्नमाथि सुनसरीका राजनैतिककर्मी, व्यवसायी, पेशाकर्मीको धारणा जस्ताको तस्तै राख्ने जमर्को गरेका छौं ।

टंकप्रसाद न्यौपाने :
मुलुकको अस्मितामाथि नक्कली भुटानी शरणार्र्थी प्रकरणले कस्तो प्रभाव पार्छ र यो प्रकरणलाई यहाँले कसरी हेर्नु भएको छ भन्ने जिज्ञासामा उहााले भन्नुभयो भ्रष्टाचार भन्दा पनि राजनैतिक अपराधिकरण हो भुटानी शरणार्थी प्रकरण ।


राजनैतिक अपराधीकरण २०४७ सालदेखि बढ्दै आएको र गणतन्त्रमा चरमोत्कर्षमा पुगेको छ । यसले के देखाउँछ भने पहिलो कुरा स्थापित नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र जस्ता पार्टीप्रति हाल जनतामा वितृष्णा बढाएको छ । यो वितृष्णा बढ्दै गएको छ । यो परिपाटीप्रति वितृष्णा बढ्ने लक्षण देखिएको हो । यसको गन्ध आइसकेको छ । हाल भएको उप निर्वाचनको परिणामले पनि प्रमाणित गर्छ । दोस्रो कुरा नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा बद्नाम गरेको छ । अन्तर्राष्ट्रिय जगतले यस भन्दा अगाडि नेपाललाई जुन ढंगले हेर्ने गरेको थियो त्यो हेराईमा परिवर्तन आएको छ । अन्ततोगत्वा मलाई के लाग्छ भने सरकारले सबै पार्टीसँगको मिलेमतोमा हाल ज–जस्लाई मुद्दा लगाएको छ त्यो फिर्ता लिन्छ । सबैलाई चोख्याउँछ । त्यस्तो अनुभूति भएको छ मलाई । किन कि पहिला पनि त्यस्तो गरेको थियो । पाँचबर्ष पछि मुद्धा नलाग्ने भनेर विद्येयक ल्याएको थियो । मतलब दलका नेताहरुको नियत खराब छ । त्यसैले यो मुद्दा अगाडि बढ्ला जस्तो लाग्दैन । साँच्चै नै मुद्दा सही ढंगले चलाउने हो, करबाही गर्ने नियत भए पक्राउ पूर्जी जारी गर्नु पर्दैन ? सिधै पक्राउ गरेर कारबाही गर्नुपर्छ । पक्रनै सक्दैन भने के सरकार भयो ? यसलाई त्यसै डिसमिस गर्न सक्छ ।

राजीव कोइराला–पूर्व प्रदेश सांसद एवम् नेपाली काँग्रेस सुनसरीका पूर्व सभापति :


यसमा मेरो केही पनि भन्नु छैन । न मैले लिनु छ न दिनु छ । केही कुरा खुलेको छैन । पूर्व गृहमन्त्री बालकृष्ण खाँड हिरातमा छन् । टोपबहादुर  रायमाझी आइतबार पक्राउ परेका छन् । अनुसन्धान भइरहेको होला । अरु कसैको नाम आइरहेको छैन । फेसबुकमा गरेको चर्चाले के हुन्छ ? फेसबुकमा जे मन लाग्यो त्यही लेखेको छ । खाँडले कागज खायो भनेर लेखेका छन् त्यो खाएकै होइन रहेछ । हामी उचालिएर केही हुँदैन । प्रहरीले सत्यतथ्य बाहिर ल्याउँला । मामला अदालत पुगेको छ । सबै जना न्यायाधीश जस्तै, ज्योतिषी जस्तै गरेर किन बोल्नु प¥यो ? फिलोसफर जस्तो, दार्शनिक जस्तो भएर बोलेर के हुन्छ ? यहाँ चोखोचाहिँ को छ र ? चोखो भएको भए त्यत्रा बिल्डिङ्ग बन्छ र काठमाण्डौमा ? कसले आफ्नो पुख्र्याैली सम्पत्ति, घर जग्गा बेचेर काठमाण्डौमा त्यत्रा घर, गाडी जोडेका त हैनन होला । दुई चार दिन हेरौ संघर्ष गरेर गएका मान्छेहरुले ४८ साल पछि कसरी त्यस्ता सम्पत्ति जोडे ? घर बनाउन त्यति सजिला छ ?

धुव्रराज घिमिरे, नेपाली काँग्रेस सुनसरीका पूर्व जिल्ला सदस्य, सुनसरी क्षेत्र नं. २ का पूर्व क्षेत्रीय उपसभापति । हाल यातायात व्यवसायी तथा पेट्रोलियम व्यवसायी एवम् समाजसेवी :


यी सबै संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्छ । दोषी कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । जसले दोषीलाई जलोगाउन खोज्छ त्यसलाई पनि कारबाही गर्नुपर्छ, थुन्नुपर्छ । स्वास्नीले दिएको पैसा लोग्नेले खर्च गरेको छ । लोग्नेलेको लिएको पैसा स्वास्नीले खर्च गरेको छ । ओली, देउवा सबैलाई खाँद्नुपर्छ । कस्ले के भूमिका खेल्दै छ त्यो सबै जनताले हेरेर बसेका छन् । सत्ता यिनैको हातमा छ, प्रहरी प्रशासन यिनैका निर्देशनमा चल्छन् अनि दोषीलाई कारबाही होला त भन्ने सवालमा उहाँले भन्नुभयो अहिले दोषीलाई कारबाही नभए अर्को पटक रवी लामिछाने, ज्ञानेन्द्र साहीको सरकार बन्छ । अधिधकांशले अब काँग्रेसलाई भोट हाल्दैनन् एमालेलाइ हाल्दैनन्, माओवादीलाई हाल्दैनन । रवि र ज्ञानेन्द्रको सरकार बनेपछि आफै मुन्ट्याएर कारबाही  गर्छन् । चाहे शेरबहादुरकी पत्नी होस् कि अरु कोही कारबाही हुनैपर्छ ।

विश्वराज भण्डारी (शर्मा), नेपाली काँग्रेसका पूर्व क्षेत्रीय उपसभापति, परिवर्तनशील समाज धरानका अध्यक्ष, बीपी कोइराला संग्रहालय तथा अनुसन्धान केन्द्रका अध्यक्ष :


कसैलाई उन्मुति दिलाउने प्रपञ्च जस्ले गरिरहेको छ उसलाई पनि कारबाही हुनुपतर्छ । अहिले सञ्चार माध्यममा जसरी समाचार आइरहेको छ जस्तै बालकृष्ण खाड र मञ्जु खाँडलाई फँसाएर आफ्नी श्रीमतिलाई जोगाउने जुन कार्य शेरबहादुर देउवाले गर्दैछन् उनलाई पनि कारबाही हुनुपर्छ । अडियो, भिडियो आइरहेको छ । त्यसमा करोडौ बुझेको कुरा आएको छ । न्याय समान हुनुपर्छ । आज एक थरि आरजुलाई कारबाही गर्नुपर्छ भनेर आवाज उठाइरहेका छन् । अर्कोथरि जो विकाउ छन् तिनले उन्मुक्ति दिनुपर्छ भन्नु स्वभाविक हो । यो प्रकरणले मुलुक भाषमा गयो कुटनीतिक सम्बन्ध पनि अन्य देशसँग धुमिलिएको छ । यी राजनैतिक पात्र नभएर कु पात्र रहेछन् ।

लक्ष्मण बस्नेत, राप्रपा संयोजित संगठन समन्वय विभागको केन्द्रीय सदस्य :


नेपालीहरुलाई एउटा खरिद विक्रीको रुपमा लिइएको छ । सत्तामा बसेर मानव तस्कर गरेर आर्जन गर्नेमाथि सक्त कारबाही हुनुपर्छ । जुनसुकै पार्टीको जोसुकै नेता हुन दोषी देखिएमा कारबाही गर्नेपर्छ । हामीलाई आश्चर्य लागेको के छ भने हाल मानव तस्करमा मुछिएका वा भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई ती राजनैतिक दलका भातृ संगठनले विरोध जनाएका  छैनन् । अहिले एमालेका युवा संघले निकाल्नुपर्ने हो जुलुस, काँग्रेसका भातृ संगठन, माओवादीका भातृ संगठनले विरोध प्रदर्शन गर्नुपर्ने थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीले चाहिँ के के गरिरहेको छ भन्ने सवालमा बस्नेतले भन्नुभयो हामीले विरोध प्रदर्शन गरिरहेका छौं, केन्द्रीय स्तरबाट काठमाण्डौको  बसन्तपुरमा रवि लामिछानेको गु्रपको समेत सहभागितामा राप्रपाले वृहत प्रदशन गर्दैछ ।

श्रीमति श्यामा रेग्मी, नेपाली काँग्रेस महासमिति सदस्य एवम् प्रखर महिला नेतृ :


यसले मुलुकको अस्मितामाथि अन्तर्राष्ट्रिय स्तरमै लज्जाबोध गराउने काम गरेको छ । हामी नेपालीहरुको शान, मान माथि धावा बोल्ने काम भएको छ । यो प्रकरणमा जो सु्कै भए पनि दोषीलाई कारबाही हुनुपर्छ । जुनसुकै पार्टी, धर्म वा जातको भएपनि दोषी उम्किनु हुँदैन । यहाँ ठूलो सानो भन्ने हुँदैन । अपराधी अपराधी नै हुन्छ । अपराधीको जात हुँदैन । साना साना इस्युहरुमा पनि विगतमा दलका भातृ संगठनहरु भ्रष्टाचारका इस्युमा सडकमा आउथे । अहिले यत्रो इस्युमा एमाले, काँग्रेस, माओवादीका भातृ संगठनहरुले नेतृत्वलाई दबाब दिएको देखिदैन । तपाईलाई के लाग्छ यसमा पार्टीको हैकमवाद वा पार्टी नेतृत्वको निर्देशनले पनि काम गरेको हुन सक्छ ? नेविसंघले काठमाण्डौमा जुलुस निकालेर दोषी जोसुकै भएपनि कारबाही गर भनेर नारा लगाएको थियो । तर स्थानीय स्तरमा हाम्रो धरानमाचाहिँ त्यस्तो देखिएको छैन । सामाजिक सञ्जालमा एक आद्य धारणा आएका छन् । भ्रष्टलाई कारबाही हुनुपर्छ भनेर आएको छ । यतिबेला भ्रष्टाचारी जोसुकै होस त्यस्तालाई कारबाही हुनुपर्छ । महंगीले आकाश छोएको छ । यही मौका हो अहिले भ्रष्टलाई निरुत्साहित गरियो भने पछिकाले पनि एकसय पटक सोच्नुपर्छ । सबै जनता अब जाग्नुपर्छ । भ्रष्टाचार गरेर नेताहरु सधै मोटाउने हो भने त्यसले विस्तारै वितृष्णा बढाउँदै जान्छ र गएको पनि छ ।

दुर्गाबहादुर बस्नेत, राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका सभापति एवम पेट्रोलियम डिलर एसोसिएसन कोशीका अ्रध्यक्ष एवम् समाजसेवी :


यो त जघन्य अपराध हो । यो गर्नै नहुने अपराध गरेका छन् । भ्रष्टाचारको क्योटोरी हुन्छ । यो चाहिँ उपल्लो तहको क्याटोगोरी हो । भ्रष्टाचार पनि आफ्नो नागरिकलाई अनागरिक बनाइदिने जस्तो  रियाकलाप क्षम्य हुनै नसक्ने अपराध हो । यस्तो अवराध यिनीहरुले कसरी गरे ? कल्पना गर्न पनि नसकिने किमिसको । राज्य दोहन गर्ने काम गर्दै आएका थिए तर अहिले आएर यिनीहरुले जुन काम गरे त्यसबाट जनताको दलप्रति वितृष्णा उत्पन्न भएको छ । यस्ता मान्छेलाई हामीले नेता बनाएका रहेछौं र पो मुलुक यस्तो दुर्गतिमा पुगेको रहेछ भन्ने भएको छ । यसलाई कुनैपनि हालतमा ढाकछोप गर्नु हुँदैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले यसका विरुद्धमा जुलुस निकाल्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छौं । ज्ञापनपत्रमा हामीले प्रष्ट उल्लेख गरेका छौं यसमा ढाकछोप हुनु भएन । पहिला ठूला ठूला अपराधीहरुलाई उन्मुक्ति दिइएको थियो त्यो अब गर्नु हुँदैन भनेका छौ । यो घटना लहरो तान्दा पहरो गर्जिएको जस्तो भएको छ ।

तपाईको प्रतिक्रिया