भुकम्पपश्चात सरकारले चालेको कडा कदमले मजदुर मारमा

धरान/वैसाख १२ गते गएको महाविनासकारी भुकम्पलाई मध्य नजर गरेर नेपाल सरकार सहरी विकास मन्त्रालयले घर निर्माणको प्रक्रियालाई
रोकेपछि अहिले निर्माणकर्ता र मजदुर सबैभन्दा बढी समस्यामा परेका छन् ।
नेपाल सरकार सहरी विकास मन्त्रालयले भुकम्प प्रतिरोधात्मक घर निर्माण नहुदा राजधानी लगायत नेपालमा विभिन्न स्थानका भवनहरु भत्किएर धेरै जनजनको क्षति भएको भन्दै नगरपालिकाहरुमा पत्र पठाएपछि भने निर्माणको प्रक्रियामा पुगेका भवनहरु समेत असार मसान्तसम्म निर्माण नहुने भएपछि धरानमा समेत मन्त्रालयको निर्णय भन्दै भवन निर्माणमा रोक लगाएको छ ।
धरान उपमहानगरपालिकाका इन्जिनियर सुरज श्रेष्ठले घर निर्माणका लागि निवेदन दिने अथवा प्रक्रियामा
रहेका, पहिलो र दोस्रो चरणको इजाजत लिएका सम्पूर्ण घरहरु असार मसान्तसम्म बनाउन रोक लगाएको बताउनुभयो ।
उहाले नेपाल सरकारको अर्को निर्णय नहुन्जेलसम्मको लागि रोक लगाएको बताउनुभयो ।
यस्तै धरान उपमहानगरपालिकाका नायव सुब्बा हरि कार्कीले धरानमा ८ सय १ वटा घरको लागि उपमहानगरपालिकाका निवेदन आएको, ४ सय ७७ वटा घर निर्माणका लागि पहिलो
चरणको इजाजत लिइसकेको, ६ सय २२ वटाका लागि दोस्रो चरणको र ५ सय २० वटा तेस्रो चरणको इजाजत लिइसकेको भएपनि निर्माणको कार्यलाई नेपाल
सरकारले अर्को निर्णय नगरुन्जेल रोक्का गरिएको बताउनुभयो ।
यो निर्णयपश्चात घर निर्माण गर्ने घरधनीहरु भने मारमा परेका छन् । घर निर्माणका लागि वैंकबाट लौन लिएर बसेकाहरुलाई निर्माण सम्पन्न भएको कागज उपमहानगरपालिकाले नदिएसम्म वैंकले समेत पूरा ऋण नदिने भएकोले समस्यामा परेका हुन् ।
धरान ११ सिर्जना मार्गमा तीनतले घर निर्माणको लागि उपमहानगरपालिकासंग स्वीकृति लिएर नक्सा समेत बनाई दुई तले भवन बनाइसकेका लेखबहादुर राईले
सरकारले ल्याएको यो नीतिले आफूहरु मारमा परेको बताउनुभयो । उहाले समयमा घर निर्माण नहुने त छदैछ, घर बनाउदा लिएको ऋणको व्याज समेत बढ्दै जाने भएकोले समस्या भएको बताउनुभयो ।
यस्तै सरकारले ल्याएको यो नियमले ज्याला मजदुरी गरेर खाने मजदुरहरु समेत विचल्लीमा परेका छन् । घर बनाउदा बनाउदै बीचैमा छोडेर बस्नुपर्दा उनीहरुलाई दुई छाक जोड्न समेत समस्या पर्ने गरेको मजदुर खगेन्द्र राईले बताउनुभयो ।
नेपाल सरकारले ल्याएको यो नीति ढिलो भएको सर्वसाधारणको बुझाई छ । बेलैमा यो निति अवलम्बन गरिदिएको भए वैसाख १२ गते आएको विनाशकारी भुकम्प र त्यसपछि आएका पराम्पनले यत्रो ठूलो धनजनको क्षति नहुने बुझाई सर्वसाधारणको रहेको छ ।

तपाईको प्रतिक्रिया