भारतको दार्जिलिङसँग सीमा जोडिएको सन्दकपुर महोत्सव सम्पन्न

इलाम । भारतको पश्चिम बंगाल राज्य अन्तर्गत दार्जिलिङसँग सीमा जोडिएको इलामको पर्यटकीय स्थल सन्दकपुर महोत्सव आइतबार सम्पन्न भएको छ । खास गरेर आन्तरिक एवम् वाह्य पर्यटक लोभ्याउनकै लागि महोत्सवको प्रमुख उद्देश्य रहेको आयोजक सन्दकपुर गाउँपालिकाले जनाएको छ । महोत्सव आयोजना स्थल सात खाल्डे मनमोहक ढंगले सजाइएको थियो । सात खाल्डे त्यही स्थान हो जहाँ २०१८ सालमा प्रजातन्त्र पुनः प्राप्तिका लागि सशस्त्र आन्दोलनमा सहभागी ७ जना युवाहरुलाई जिउँदै एउटै खाल्डोमा पुरिएको थियो ।


महोत्सवमा सबैभन्दा आकर्षक विभिन्न जात जातिहरुका झाँकी, भेष, भुषा, रहनसहन झल्कने दृश्यहरु नै थिए । व्राम्हण, क्षेत्री समुदायको प्राय ः लोपोन्मुख हुँदै गएको बालन नृत्य, सुनवार, राई, लिम्बु, शेर्पा लगायतका जातजातिहरुको साँस्कृतिक झाँकीसँगै नृत्यले महोत्सवमा सबैलाई मोहित बनाएको थियो । प्रथम सन्दकपुर महोत्सव भएपनि आयोजकले आगन्तुकको स्वागतमा कुनै कमी गरेका थिएनन् ।  महोत्सवमा राखिएका स्टलहरुमा सन्दकपुरमै उत्पादन भएका किवी, चिज, जडिबुटी, ललीपप, दूधका परिकार, अल्लोबाट बनेका कपडा लगायत राखिएको थियो । महोत्सवको सबैभन्दा आकर्षक पक्ष के थियो भने सन्दकपुर सामुन्द्रिक सतहबाट २ हजार १ सय मिटर उचाइमा भए पनि सैयौ युवाहरु साइकलमै महोत्सव स्थल पुगेका थिए । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्नुभएको महोत्सवको नारा एकीकृत पर्यटन प्रवद्र्धन र विकास, समृद्ध राष्ट्र निर्माणको सघन निकास रहेको  थियो । महोत्सव मूल समारोह समितिका सचिव रुपेन्द्र नेम्बाङका अनुसार महोत्सवमा भारत, बंगलादेश, भुटान र चिनियाँ पर्यटकहरुसमेत आएका थिए ।

तपाईको प्रतिक्रिया