धरान । माओवादी केन्द्रले प्रदेश नं. १ को नामांकानका सम्बन्धमा दोहोरो चरित्र देखाएको छ । प्रदेसभामा माओवादी केन्द्रबाट निर्वाचित भएका सांसदहरुले प्रदेश नं. १ को नाम कोशीमा सहमति जनाएका थिए । कोशी प्रदेश नामाांकन खारेजीको माग राखी किराँत सभ्यतासँग आवद्ध पहिचानवादीहरुले आन्दोलन चर्काएपछि माओवादी केन्द्र प्रदेश समिति कार्यालय विराटनगरले चैत्र १७ गते एक विज्ञप्ती प्रकाशित गरी संघीय संरचनाबारे पार्टीको धारणा सार्वजनिक गर्ने भन्दै प्रेस विज्ञप्ती प्रकाशित गरेको छ ।

माओवादी केन्द्रको प्रदेश समिति कार्यालयका अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो) र सचिव गणेश उप्रेति (सुशिल) ले संयुक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तीमा भनिएको छ, माओवादी केन्द्रको नेतृत्वमा प्राप्त उपलब्धीहरु संघीयता, गणतन्त्र, समानुपातिक र समावेशिता नेपाली राजनीतिको केन्द्रीय राजनीतिका मुल मुद्धाहरु हुन् । यी मुद्धाहरु विगतदेखि नै आजसम्म माओवादी केन्द्रले
निरन्तर उठाउँदै आएको हो । पार्टीले स्थापित गरेको र अंगीकार गर्दै आएको संघीयता र पहिचान सम्बन्धी नीतिमा कुनै परिवर्तन नभएको साथै प्रदेशका विभिन्न पहिचानहरुलाई दृष्टिगत गरी वहु–पहिचानका आधारमा नै प्रदेशको नामांकन हुनुपर्दछ भन्ने कुरामा प्रदेश पार्टी दृढ मत र निर्णय रहेको कुरा प्रष्ट पार्न चाहन्छ । त्यसै सन्दर्भमा पहिचान पक्षधरहरुको प्रतिकूल अंकगणित रहेको अवस्थामा प्रदेशसभाबाट पारित गरी प्रदेशको नामाकरण गरिएको सन्दर्भमा प्रदेश पार्टी र संसदीय दलले गम्भीरतापूर्वक छलफल र समीक्षा गरिरहेको प्रष्ट पार्न चाहन्छौं, विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा अगाडि भनिएको छ १० बर्षे जनयुद्ध, आजासम्म भएको संघर्ष र आन्दोलनको आदेश मुताविक सँस्कृति, भुगोल, भाषा, विकास परिप्रेक्ष आदिका आधारमा सघंीय राज्यहरु गठन भएका छन् । हाम्रो सन्दर्भमा उत्पीडितहरुमध्ये पनि उत्पीडित जनताको हिस्सालाई नीति, निर्माण र कार्यान्व्यन तहमा सक्रिय सहभागी बनाउने मर्म सहित संघीयता लागू गर्न खोजिएको हो । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, कर्मचारी प्रशासन, आदिमा प्रदेशको स्वायत्तता कायम रहने संघीयता र सोही सार अनुसारको रुप अर्थात वहु पहिचानका नामका निम्ति सघर्ष गर्न हाम्रो पार्टी प्रतिबद्ध छ । पहिचान पक्षधर संघ, संस्था, पार्टी र समुदायहरुले पनि यस विषयमा गम्भीर समीक्षा गर्दै भावि आन्दोलनलाई सफल बनाउन साझा एजेन्डा र साझा विषयहरुमा सहकार्य सहित नयाँ सीमांकन र नयाँ पहिचानलाई स्थापित गर्ने सम्भावना पनि बहस जरुरी रहेको प्रष्ट पार्न चाहन्छौं । विज्ञप्तीको अन्त्यमा भनिएको छ नामांकन सच्याउन हाल पहिचान पक्षधर, विभिन्न संघ संस्थाहरुले चलाइरहेको शान्तिपूर्ण आन्दोलनप्रति हाम्रो पार्टीको समर्थन र ऐक्यवद्धता रहेको छ । आन्दोलनका क्रममा घाइते भइ सहादत प्राप्त गर्नुहुने पदम लिम्बुलाई राज्यले सहीद घोषणा गर्न जोडदार माग गर्दै आन्दोलनका क्रममा घाइते भएका सबै आन्दोलनकारीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारका तर्फबाट निःशुल्क उपचारको माग गर्दछौं ।
