गोर्खा ट्रेइलबेजर नेपाल धरानको उपाधि देवराज र छेन्बीलाई दोस्रो विश्वयुद्ध लडेका वीर योद्धा सम्मानित

धरान । गोर्खा ट्रेइलबेजर नेपाल धरानको पहिलो संस्करणको पुरुष विधाको उपाधि खोटाङका देवराज बस्नेतले जितेका छन् भने महिलातर्फको उपाधि धरानकी छेन्बीमाया राईले जितेकी छन् ।
साढे आठ किलोमिटरको निर्धारित दूरी देवराजले ३१.२५ मिनेटमा पूरा गरे भने छेन्बीले ४३.०७ मिनेटमा पूरा गरी जनही नगद १५ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी हात पारे ।
पुरुषतर्फ दोस्रो उपाधि विजेता धरानका प्रशान्त तामाङले ३१.४७ मिनेटमा दूरी पूरा गरे । तेस्रो हुने खोटाङका जुनेश खड्काले ३२.३२ मिनेट र चौथो हुने विर्तामोडका समीर कन्दङ्वाले ३१.४९ मिनेटमा दूरी पार गरे । उनीहरुले क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे ।


महिला उपाधितर्फ दोस्रो हुने सङ्खुवासभाकी सुनकला राईले ४४.१३ मिनेट, तेस्रो हुने धरानकी इन्द्रकला लिम्बूले ४४.५२ मिनेट र चौथो हुने धरानकी कल्पना राईले ४६.३१ मिनेटमा निर्धारित दूरी पार गर्दै क्रमशः नगद १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र ट्रफी प्राप्त गरे । स्मृति पार्कमा औपचारिक कार्यक्रम आयोजना गर्दै दोस्रो विश्व युद्ध लडेका दुई वीर गोर्खाली योद्धालाई सम्मान गरिएको छ ।  धरान नगरप्रमुख हर्क साम्पाङले तेह्रथुम घर भई हाल धरान–११ बस्दैं आएका १०१ वर्षीय धनदल लिम्बू र संखुवासभा घर भई हाल विराटनगर बस्दैं आएका १०१ वर्षीय मगबहादुर लिम्बूलाई सम्मान गरे । ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई भने उपस्थित हुन सकेनन् । वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेइल ब्लेजर, २०२३ को अवसरमा योद्धालाई सम्मान गरिएको हो । सन् २०१८ मा दोस्रो विश्वयुद्धका ४ योद्धालाई सम्मान गर्दै गोर्खा सिमेट्री ट्रष्ट नेपाल स्थापना गरिएको हो । संस्थाले विभिन्न युद्धमा वीर गति प्राप्त गरेको सम्झना स्वरुप नेपालमा पहिलो पटक गोर्खा सिमेट्री ट्रष्ट नेपालले गोर्खा ट्रेइल ब्लेजर २०२३ नेपाल धरान आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया