भारतीय राजदूत श्रीवास्तवद्वारा मदन भण्डारी स्मृति कलेज व्यवस्थापनलाई हस्तान्तरण

राजधानी । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले भारत सरकारको सहयोगमा नव निर्मित मदन भण्डारी स्मृति कलेज सोमबार एक औपचारिक कार्यक्रमका बीच कलेज व्यवस्थापन समितिलाई हस्तान्तरण गर्नुभएको छ । काठमाण्डौको नयाँ वानेश्वरस्थित निर्मित भवन हस्तान्तरण समारोहमा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, मदन भण्डारी फाउन्डेशनकी अध्यक्ष एवम् स्व. मदन भण्डारीकी छोरी उषाकिरण भण्डारी, काठमाण्डौ जिल्ला समन्वय समितिका सभापति सन्तोष बुढाथोकी, कलेज व्यवस्थापनका अन्य पदाधिकारीहरु, प्राध्यापक लगायतको उपस्थिति
रहेको थियो ।


नेपालस्थित भारतीय  राजदुतावासद्वारा कलेज हस्तान्तरण सम्बन्धी जारी विज्ञप्तीका अनुसार मदन भण्डारी स्मृति कलेज नेपाल भारत विकास सहकार्य अन्तर्गत निर्माण भएको हो । कलेज भवनको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा नेपाली रुपैया २ करोड ८६ लाख ४० हजारको लागतमा सम्पन्न भएको हो । जारी विज्ञप्तीमा अगाडि भनिएको छ स्थापना कालदेखि मदन भण्डारी स्मृति कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त उक्त कलेजमा हाल देशका विभिन्न जिल्लाबाट उच्च शिक्षा अध्ययनका लागि १५ सय भन्दा बढी विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् । दुई दशक यता भारत सरकारले नेपालमा पाँच सय पैतीस वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सञ्चालन गरेकोमा हालसम्म ४७८ वटा सम्पन्न भइसकेका छन् । सञ्चालित परियोजना मध्ये हालसम्म काठमाण्डौ जिल्लामा मात्र ४० वटा रहेका छन् । बागमती प्रदेशमा १०४ वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् । भारत सरकारले कलेज भवन निर्माण सँगै एक थान स्कुल बस समेत उपलब्ध गराएको छ । हालसम्म काठमाण्डौका विभिन्न अस्पताल, गैह् नाफामुलक संघ संस्था, स्वास्थ्य केन्द्र, शिक्षण केन्द्रहरुलाई समेत गरी ६८ वटा अत्याधुनिक एम्बुलेन्सहरु, विभिन्न सामुदायिक विद्यालयहरुलाई गरी ४६ वटा स्कुल बस प्रदान  गरिसकेको छ । नव निर्मित मदन भण्डारी स्मृति कलेज जस्तो परियोजनाको कार्यान्वयनले शैक्षिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय योगदान पुग्ने विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया