केहीे बर्षदेखि सुस्त रहेको धरानको व्यापार व्यवसायलाई चलायमान बनाउने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सघ धरानले ‘धरान एक्स्पो’ (धरान औद्योगिक मेला) को आयोजना गरेको छ । धरान रंगशालाको दक्षिणतर्फ आयोजना गरिएको एक्स्पो दश दिन अर्थात फागुन २० गतेसम्म सञ्चालन हुने भएको छ ।

एक्स्पोमा १३० वटा स्टलहरुमध्ये अधिकांश धरानका होटल व्यवसायीहरुको स्टल रहेका छन् । धरान औद्यागिक क्षेत्रमा उत्पादन भएका सामान, स्थानीय उत्पादनसँगै प्रदेश नं. १ का अन्य जिल्लाका उत्पादनहरु समेत राखिएका छन् । २६ वटा स्टलहरु विभिन्न सामािजक संघ संस्थाहरुलाई आफ्नो उद्देश्य प्रवाह गर्न, स्वास्थ्य संस्थाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गर्न उपलब्ध गराइएको छ । अत्यन्तै तामझामका साथ प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको धरान एस्पोको सम्बन्धका हामीले ‘धरान एक्स्पो २०७९’ का मुल संयोजक एवम् सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठसँग एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्यका सम्बधन्धमा छोटो कुराकानी गरेका छौ ।
एक्स्पो आयोजना गर्नुको प्रमुख उद्देश्य के हो ?
–प्रमुख उद्देश्य भनेको धरानको व्यापार व्यवसाय खस्कदै गएको अवस्था छ । व्यापार व्यवसायलाई प्रमोट गर्ने उद्देश्यले नै एक्स्पोको आयोजना गरेका हौं ।
एक्स्पोबाट आर्जित रकम तपाईहरु केमा खर्च गर्दै हुनुहुन्छ ?्
–एक्स्पोबाट मुनाफा हुने सम्भावना एकदमै कम छ । आम्दानी भइहाल्यो भने उद्योग वाणिज्य संघको पछाडिपट्टिको हल निर्माण गर्ने,चतरालाइनको जग्गामा भवन बनाइदिने भन्ने सोच छ । तर त्यस्तो अवस्था देखिदैन । हाम्रो मुख्य उद्देश्य भनेकै उद्योग वाणिज्य सघको हल बनाउने नै हो । संघको स्थायी स्रोत केही छैन । संघ सञ्चालन गर्न पनि अप्ठेरोे छ । हाम्रो फोकसिङ्ग भनेको अगाडिदेखिको हल भत्काएर पछाडि सम्म बनाउने नै थियो र छ ।
धकत्तिको आशावादी हुनुहुन्छ आम्दानी हुने कुरामा ?
–धेरै कम चान्स छ । एक्स्पो आयोजना गर्न उद्योग वाणिज्य महासंघले सहयोग गर्ने भनेको थियो त्यो भएन । एस्पोन्सरहरु नै भएनन् ।
महासंघले केही सहयोग गरेन ?
–महासंघले केही सहयोग गरेन ।
एक्स्पोमा सरकारबाट, निजी क्षेत्रबाट पनि सहयोग भएको थियो नि हैन र ?
–सरकारका तर्फबाट प्रदेश नं. १ सरकारले सहयोग गर्ने भन्ने कुरा छ । हामीले ५० लाख भागेका थियौै तर २५ लाख दिने कुरा भएको छ । धरान उपमहानगरपालिकासँग १० लाख सहयोग मागेका थियौ तर हाल ५ लाखको एग्रीमेन्ट भएको छ । अरुचाहिँ हामी हेर्छौ भन्नुभएको छ मेयरले ।
निजी क्षेत्रहरु जस्तै बैंकहरु, अन्य वित्तीय संस्थाहरुबाट पनि सहयोग आएको होला नि ?
–बैंकहरुमा धेरै भनेको मितेरी बैंकले ३ लाख सहयोग उपलब्ध गराएको छ । हामीले २ लाखको आशा गरेका थियौं । तर तीन लाख दिनुभयो । यसैगरी धरानमा भएका अन्य बैंकहरुमध्ये वाणिज्य बैंकले ५० हजार, कसैले ३० हजार, कसैले २५ हजार दिनुभएको छ । एक्सल डेभलपमेन्ट बैंकले ३० हजार, एनएनवी बैंकले २५ हजार दिनु भएको थियो । घोपा रोटरीले २ हजार लिटरको पानी ट्यांकी उपलब्ध गराउनु भएको छ ।
धरान एक्स्पोमा धरानमा उत्पादन भएका भन्दा पनि वाह्यको उत्पादनका स्टल बढी देखियो । यसको प्रमुख कारण के हो ?
–धरान सहर नै यस्तै छ । धरानमा उत्पादन हुने कही छैन । यहाकाँ उत्पादन बेसार, कुँचो, अचार, सिकुटी हुन् । यी कुराका स्टल रहेका छन् । धरान औद्यागिक क्षेत्रले एउटा स्टलमा के के उत्पादन हुन्छ भनेर २५–३० वटा आइटम राखेको छ ।
धरान एक्स्पोको सम्बन्धमा सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकरात्मक धारणा आइरहेका छन् । यसलाई तपाई कसरी लिनुहुन्छ ?
–मानिसमा त्यस्तो धारणा आउनु स्वभाविक हो । सकारात्मक भन्दा नकरात्मक धारणा बढी किन आएको छ भने गेटमा २ सय इन्ट्री फि लियो भन्ने हो । टिकटमा रकम उठाएको देख्नु भएको छ । एक करोड खर्च भएको छ । ३ बजेसम्म छुट दिएका छौं । ३ देखि ५ बजेसम्म ५० र ५ बजेपछि राष्ट्रिय कलाकार आएमा २ सय र स्थानीय कलाकार आएमा एक सय राखेका छौं । प्रोगाम नै हेर्न आउनेहरुका लागि यो व्यवस्था गरिएको हो । त्यस्तो खालको छिर्ने नसक्ने वातवारण बनाउने, स्टलका आइटम महँगो बनाउने काम भएको छैन । एउटा स्टल बनाउँदा २६ हजार ५ सय लागेको छ । होटललाई ५० हजार र एउटा गाडीलाई ५० हजार लिएका छौं । नत्र १०, २० हजारका स्टल छन् । टिकटको विषयमा त्यस्तो धारणा आएको हुनसक्छ । कसैलाई एक्स्पो राम्रो नहोस भन्ने चाहना पनि मनमा होला । तर त्यसरी नसोचिदिन म सबैमा आग्रह गर्दछु । धरानका व्यवसायी, यहाँको विकास, व्यापार चलायमान गर्न नै एक्स्पोको आयोजना गरेका हौं । यो गोपाल श्रेष्ठको एक्लो हैन यो सुनसरी उद्योग वाणिज्य संघले गरेको हो ।
एक्स्पोमा राखिएका सामान बाहिरी बजार भन्दा महँगो देखियो तर सस्तो हुनुपर्ने हैन र ?
–मलाई यस्तो लागेको छैन ।
जस्तै बजारमा एक केजी जुलेवीको दाम ३ सय पर्छ भने त्यहाँ पाँच सय लिन्छन्, मैले उदाहरणमात्र दिएको हुँ । यहाँ अझ सस्तो हुनुपर्ने हैन र ?
–वास्तवमा यो हो भने हामी तुरुन्त रोक्छौं । म पहिला पनि थिए तर म कोषाध्यक्ष थिएँ । व्यवस्थापन मैले हेरेको थिइन् । मूल सयोजकको नाताले यसको जिम्मा मैले लिनुपर्छ । अब आउने दिनमा उहाँहरुसँग रेट लिष्ट लिएर स्टलमा टाँस्ने व्यवस्था गर्नेछौं । अहिले १४ गते आएको हावा हुरीले ठूलो क्षति भएको छ । डोममा भएका ७० वटा स्टल ठीक छ, कृषिपटिको ठीक छ । होटल
र चस्मा राख्ने सबै नष्ट भएको छ ।
विगतमा उद्योग वाणिज्य सघले लगाएको एक्स्पो र अहिलेमा के फरक छ ?
–अहिलेको आकर्र्षण भनेको डोम हो । पानी, हुरी, बतासले पनि नबिग्रिने हुन्छ । पहिला त्यसै मेला लगाइन्थ्यो भने यसपटक सबै कार्पेट ओछ्याएका छौं । स्टेजमा एलइटी राखेका छौ ।




