धरान । मोफसलका फुटबल प्रतियोगिता सरकारी सहयोग नभएकैले खस्किदै गएको छ । आर्थिक सहयोग नहुने भएकैले क्लबले आफ्नै सक्रियतामा आर्थिक सहयोग जुटाएर बल्लतल्ल प्रतियोगिता गर्दै आइरहेका छन् । यसको प्रत्यक्ष उदाहरण हो धरान फुटबल क्लब । करिब तीन दशक अघि क्लब गठन गरेर पूर्वमा फुटबलको जग बसाल्ने काम गरेको क्लबले अहिले पनि सहयोग जुटाएरै बुढासुब्बा गोल्डकप सञ्चालन गर्नुपर्ने अवस्था रहेको छ ।

कोरोना तथा स्थानीय निर्वाचनका कारण दुई बर्ष प्रतियोगिता गर्न नसकेको अन्तराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपले आर्थिक अभावकै कारण २२ औं संस्करणको विजेता टिमको पुरस्कार एक हप्ता अगाडि मात्र दिन सकेको छ । यसको प्रमुख कारण खेलकुद सञ्चालन गर्ने क्लबको स्थायी स्रोत नभएर नै हो । धरानको फूटबलको जग बसाउने मात्र हैन राष्ट्रिय तथा अन्तराष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने क्लबलाई अहिले पनि आर्थिक सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्ने गरेको छ । खेलसम्बन्धी स्पष्ट नीति बनाएर तीनै तहका सरकारले दिगो आयस्रोतको माध्यम बनाउदै व्यवसायिक खेलाडी उत्पादनमा जोड दिनुपर्ने धरान फुटबल क्लबका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ उपाध्यक्ष किशोर राईले बताउनुभयो । फुटबलको जग बसाल्ने धरान फुटबल क्लबले प्रतियोगिता आयोजना गर्दा अन्य ठाउँमा प्रतियोगिता हुँदैनथ्यो, धरानको बुढासुब्बा गोल्डकपको साख सबैतिर थियो, राष्ट्रिय सँगै अन्तराष्ट्रियस्तरका खेलाडी प्रतियोगितामा आउँथे, यस पटक भने त्यो प्रयास गरिएको धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले जानकारी दिनुभयो । उहाँले फागुन १३ देखि २० गतेसम्म आयोजना हुन लागेको प्रतियोगितामा बगलादेशको केविपिएस, एभेनिर फुटबल क्लब केमरुङसँगै काठमाण्डौ तथा पूर्वका झापा, मोरङ गरी ८ वटा टिम रहने भएकोले यो प्रतियोगिता विशेष प्रतियोगिता हुने बताउनुभयो । प्रतियोगिता सञ्चालनको कठिनाइनको विषयमा आइतबार भएको पत्रकार सम्मेलनमा बोल्दै क्लबका कोषाध्यक्ष घनश्याम बुढाथोकीले आर्थिक अभावकै कारण विगतमा खेलाडीलाई दिनुपर्ने पुरस्कार समयमै दिन नसकिएको बताउनुभएको थियो । आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १० लाख, दोस्रो हुनेलाई ५ लाख, उत्कृष्ट खेलाडीलाई १ लाख, प्रत्येक खेलको म्यान अफ द म्याचलाई जनही १० हजार, सर्वाधिक गोलकर्ता ३५ हजार, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट स्टूाइकर र उत्कृष्ट कोचलाई जनही २५÷२५ हजार नगद र ट्रफी प्रदान गरिने भएको छ ।
खेल शुरु हुनु करिब एक हप्ता अगाडि अहिले क्लबले ग्राउण्डको सरसफाइ गर्ने, पानी हाल्ने लगायतका कामलाई तिब्रता दिएको छ । कोरोना तथा राजनैतिक कारणले दुई बर्ष हुन नसकेको यो प्रतियोगितालाई यो बर्ष भने विगतकै शाख फर्काउने प्रतियोगिता गर्ने आयोजकको दाबी छ । आयोजकका अनुसार स्थानीय सरकार धरान उपमहानगरलिका, प्रदेश सकार, खेलकुद विकास बोर्ड १ नं. प्रदेश राष्ट्रिय खेलकुद परिषद लगायत विभिन्न दाताबाट १ करोड ९ लाख ५० हजार उठाउने क्लबले लक्ष्य लिएको छ भने प्रतियोगिताको खर्च ८५ लाख ५ हजार खर्चको अनुमान गरेको
छ । ०७६ सालदेखि विविध कारणले प्रतियोगिता हुन सकेको थिएन । त्यसबेला मनाङ मस्र्याङ्दी क्लब काठमाण्डौलाई पछि पार्दै विभागीय टिम नेपाल पुलिसले बुढासुब्बा गोल्डकपको ट्रफी उचालेको थियो ।
