मोरङ । धनकुटा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट ९० किलो १ सय ग्राम लागुऔषध गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिवारे बिहान धनकुटाको साँगुरीगढी गाउँपालिका–१ उखुडाँडा स्थित कोशी लोकमार्गमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको को. १ ख २८३३ नम्बरको यात्रुबाहक बसको हुट र डिक्कीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा झोलामा राखेको ४० किलोग्राम गाँजा बरामद गरेको हो ।

यस्तै चेक जाँचकै क्रममा सोही बसमा सवार रहेका सहिदभूमी गाउँपालिका–१ धनकुटाका ३२ बर्षीय सुरज राईको साथबाट ४० ग्राम, र २२ बर्षीय सुरेश राईको साथबाट ६० ग्राम गाँजा बरामद भएको थियो । बस र बसका चालक सुन्दरहरैचा–५ मोरङका ५१ बर्षीय रुद्ध बहादुर तामाङ, सहचालक सहिदभूमी गाउँपालिका–७ का ४३ बर्षीय फत्तेमान राई र चौबस्से गाउँपालिका–५ धनकुटा का २९ बर्षीय सुरेन्द्र देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाले थप अनुसन्धान गरिरहेको छ । यसैगरी आइतबारै बेलुका पौने ७ बजे बिराटनगर महानगरपालिका–११ स्थित बसपार्कबाट ५० किलोग्राम गाँजा सहित धनकुटा सहिदभुमि गाउँपालिका–४ का ४४ बर्षीय यज्ञ प्रसाद राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले तेजपत्ताको बोरामा गाँजा लुकाएर ल्याउँदै गरेको अवस्थामा वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय मोरङले थप अनुसन्धान गरिरहेको छ ।
