प्रतिपक्षविहीन संसदीय अभ्यास : निर्दलयीयताको संकेत

मुलुकमा भएका राजनैतिक दलहरु यतिबेला प्रतिपक्षीविहीन संसदीय अभ्यासमा अभ्यस्त भएका छन् । बहुदलीय व्यवस्थामा संसारका कुनै पनि देश प्रतिपक्षीविहीनताको परिकल्पना गरेको छैन ।
तर दुर्भाग्य नेपालमा प्रतिपक्षीविहीन संसदको अभ्यास भइरहेको छ । पञ्चायतकालमा सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भनेझैँ अहिले सबै दल सत्ता पक्षीय, सबै सत्ता पक्षीय दल भएका छन् । यो अवस्थाको शुरुवात नेपाली काँग्रेसको वर्तमान निकम्बा र नालायक नेतृत्वले गरेको हो । पूर्व प्रेमीकाको विवाह भएर अर्कैसँग गइसकेको अवस्थामा पूर्व प्रेमी विवाह गरेर गएको केटो (दल) को मलाई रत्तिभर विश्वास छैन बरु नजिकै खटिया राखेर रुँगी रहन्छु भन्ने चरित्रकै कारण यो अवस्था सिर्जना भएको हो ।
नेपाली काँग्रप्ेसको वर्तमान नेतृत्व कतिसम्म सत्ता लिप्त देखियो भने उसले आफ्नो धरातल पूर्ण रुपमा बिर्सियो । निर्दलीय व्यवस्था नै चाहिएको थियो भने किन हिजो निर्दलीय पञ्चायती व्यवस्थाको विरोध गरेको ? किन संघीय गणतन्त्रको दुहाई दिएको ? निर्लज्जताको पनि एउटा सीमा हुन्छ त्यसको पराकाष्ठ हुन्छ । काँगेसले आफ्ना संस्थापक नेताहरु बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सुवर्ण शमशेर जबरा, बोधराज उपाध्याय, सिके प्रसाई, नारदमुनी थुलुक, डिबी राई, बलबहादुर राई लगायत हजारौ शहीदहरुको बलिदानीलाई सत्ता लिप्साकै कारण तिलाञ्जली दिएको छ । नेपाली काँग्रेसका पूर्वजहरुले बहुदलीय व्यवस्थामा प्रतिपक्षीविहीनताको कल्पना गरेका थिएनन् र हुँदैन पनि । बीपीले २०१६ सालमा झिनो मत ल्याएको कम्युनिस्टका केही नेताहरुले सत्ता उक्लन खोज्दा त्यसलाई सिधै इन्कार गर्नुभएको थियो । २००७ सालको क्रान्ति पूर्व मनमोहन अधिकारी काँग्रेसकै नेता थिए । बीपीले नै क्रान्ति सफल भएपछि प्रतिपक्षी दल चाहिन्छ भनेर मनमोहनलाई सुझाव दिएपछि उहाँ कम्युनिस्ट धारमा फर्कनु भएको थियो । यतिबेला काँग्रेसको वर्तमान नेतृत्व पुस्ता मात्र होइन युवा पुस्ता पनि सर्वाङ्ग भएका छन् । उनीहरु वर्तमान नेतृत्वको दाश र चरम अवसरवादीमा दरिएका छन् । बीपीले भन्नुभएको थियो नेतृत्वले गलत गर्दा पनि त्यसलाई टुलुटुलु हेरेर थपडी मारेर बस्ने कार्यकर्ता दाश र चरम अवसरवादी हुन् । आज पुस्तान्तरणको कुरा उठाउने झण्डै आधा दर्जन युवाहरु निकम्बा साबित भएका छन् । नेतृत्वको निर्देशनलाई एउटा अवोध बालकले थपक्क मानेझैँ उनीहरु प्रधानमन्त्रीलाई विश्वासको मत दिएका छन् । लाइनमा बसेर वर्तमान प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा तिनीहरुलाई अलिकति ग्लानी भएन ? थोरै हिनताबोध भएन ? तिनका हात कापेनन् ? तिनका खुट्टा लरबरिएनन् ? अहँ तिनलाई केही भएन । किनकी तिनीहरु वर्तमान नेतृत्वका चरम दाश थिए । चरम दाशत्व स्वीकारिसकेका थिए । ती काँग्रेसको पथबाट दिग्भ्रमित भइसकेका थिए, छन् । तिनमा पनि सत्ताको रस्वास्वादन गर्ने चरम लालसा थियो, छ ।

तपाईको प्रतिक्रिया