धरान । राष्ट्रपतिविद्यादेवी भण्डारीले मकर संक्रान्तिको अवसरमा प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिभण्डारीलाई बराहक्षेत्रका नगरप्रमुख रमेश कार्की, पूर्व नगरप्रमुख निलम खनाललगायतले आइतबार बिहान मन्दिर परिसरमा स्वागत गर्नुभयो ।

राष्ट्रपति भण्डारीले धार्मिक मान्यताअनुसार सप्तकोशी नदीमा पूजा अर्चना गरी वराह भगवानलाई जल अर्पण गर्नुभयो । मकर संक्रान्तिको अवसरमा वराहक्षेत्रमा बर्सेनि धार्मिक मेला लाग्ने गरेको छ ।
वराह भगवानको पूजा अर्चनापश्चात् धरानको विजयपुरस्थित दन्तकाली शक्ति पीठका साथै, पिण्डेश्वर महादेव र बुढासुब्बा मन्दिरको दर्शन गर्नुभएको थियो । हेलिकोप्टरबाट आउनु भएकी राष्ट्रपति भण्डारी धरान १३ सैनिक क्याम्पमा अवतरण गर्नुभई सवारी साधनमार्फत धरान १४ विजयपुर पुग्नु भएको थियो । सो अवसरमा धरान उपमहानगरपालिका वडा नं. १४ विजयपुरले स्वागत कार्यक्रम राखेको थियो । धरानको दन्तकालीमा करिब २० मिनेट पूजा गरिसकेपछि राष्ट्रपति भण्डारी पिण्डेश्वर मन्दिरमा दर्शन गर्न पुग्नु भएको थियो । सरक्षा अत्यन्तै कडा गरिएको भएपनि सञ्चारकर्मीहरुले सहज रुपमा तस्विर लिन पाएका थिए । राष्ट्रपतिलाई स्वागत गर्न स्थानीय सरकार धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राई र उपमेयर अइन्द्र विक्रम बेघाको भने उपस्थिति थिएन । राष्ट्रपतिलाई स्वागत गर्न सर्वसाधारण लाइनमा रहेका थिए । लाइनलाई सुरक्षाकर्मी तथा अंगरक्षकहरुले व्यवस्थित गरेका थिए । पिण्डेश्वर मन्दिरको दर्शनपछि राष्ट्रपति भण्डारीले बुढासुब्बा मन्दिर पुग्नु भएको थियो । दर्शनपछि उहाँ पुन ः काठमाण्डौ फर्किनु भएको थियो । राष्ट्रपतिको आगवनलाइ ध्यानमा राखेर सुरक्षाकर्मीले धरान ३ दुईधारेबाट पिण्डेश्वर पुग्ने सडकबाट सवारी साधन जान दिएको थिएन भने ठाउँमा सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन कडाइ गरिएको थियो ।
