भारत र चीनसँग जोडिएको प्रदेश नं. १ को पहाडी जिल्ला ताप्लेजुङ हाइड्रो पावरको हब बन्दै

धरान । भारत र चीनसँग जोडिएको प्रदेश नं. १ को उत्तरपूर्वी पहाडी जिल्ला ताप्लेजुङ हाइड्रो पावरको हब बन्दै गएको छ । जिल्लाको मुख्य नदी तमोरसँगै दर्जनभन्दा बढी खोलामा यतिबेला १५ वटा भन्दा बढी साना ठूला आयोजना निर्माण भइरहेका छन् । आगामी बर्षदेखि उत्पादन गर्ने  तयारीमा पुगेको तमोर नदीमा ७३ मेघावाटको सानिमा हाइड्रो पावरका प्रमुख इन्जिनियर मणिराज पोख्रेलले भन्नुभयो ताप्लेजुङ जिल्ला जलविद्युतको अब बन्दै गएको छ । सानिमाले तमोर नदीमा ७३ मेघावाटको आगामी एक बर्ष भित्रमा पूर्ण रुपले तयार गरेर आगामी एक बर्ष भित्रमा उत्पादन शुरु गर्र्ने इन्जिनियर पोख्रेल बताउनुहुन्छ ।


उहाँले भन्नुभयो तमोर नदीमा मात्र पाँचवटा जलविद्युत आयोजना हाल निर्माण भइरहेका छन् । सानीमाको लाइसेन्समा फेवा कस्ट्रक्सनले तमोरमा २५६ मेघावाटको हाइड्रो पावर निर्माण गरिरहेको छ । त्यसभन्दा माथि तमोर ५ ले ४० मेघावाटको फेवा कस्ट्रक्सनले र त्यसभन्दा माथि ४० मेघावाटकै सुपर तमोर निर्माण भइरहेको छ । यसैगरि (एचआइडिसिएल) हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले र रेमित हाइड्रो लिमिटेडले धुन्सा खोलामा ७२ मेघावाट र सिम्बु खोलामा ७० मेघावाटको निर्माण गरिरहेका छन् । यसैगरि पाँचथर र ताप्लेजुङ छुट्याउने काबेली खोलाको ताप्लेजुङतर्फ ३ वटा ४० मेघावाटका बन्दै छन् । उता मेवा खोलामा युनाइटेड मेवाको ४० मेघावाट, मिडिल मेवाको ७६ मेघावाट र मेवा खोलामै ३०–३० मेघावाटका थप दुई आयोजना र मेवा खोलाको अन्तिम विन्दुमा ४० मेघावाटको फेवा हाइड्रो पावरले निर्माण गरिरहेको छ । इन्जिनियर पोख्रेलले भन्नुभयो आगामी ५ बर्ष भित्रमा ७५० मेघावाट र १० बर्षभित्रमा एक हजार मेघावाट विद्युत ताप्लेजुङ जिल्लामा उत्पादन हुन्छ । तेह्रथुम, पाँचथर र ताप्लेजुङ्ग जिल्लालाई छुएर तमोर जलाशययुक्त ७६२ मेघावाटको सबैभन्दा ठूलो जलविद्युत आयोजना समेत बन्न लागेको छ । नेपाल र चीनका दुई सरकारी कम्पनीको समन्वयमा उक्त आयोजना बन्न लागेको हो । पछिल्लो समय नेपालमा चिनियाँ ठेक्का, चिनियाँ जनशक्ति र चिनियाँ प्रविधिहरु विस्तारै बढ्न थालेका छन् । ताप्लेजुङ्गमा निर्माण भइरहेका जल विद्युत आयोजनाहरुमा चिनियाँ जनशक्ति, प्रविधि र  उपकरणहरु नै प्रयोग भएको पाइएको छ । सानीमा हाइड्रो समूहले सम्पन्न गर्न लागेको मध्य तमोर हाइड्रो पावर आयोजनाको सिभिल संरचनाको निर्माण चिनियाँ चच्याङ्ग फस्ट हाइड्रो कम्पनीले गरेको हो । नेपालमा कोभिडको प्रकोप देखिएपछि उक्त हाइड्रो कम्पनीका कामदारहरु छुट्टी लिएर गएपछि आयोजनाको काम केही ढिलाई भएको थियो । मध्य तमोर हाइड्रो पावरमा १४० जना चिनियाँ मजदुर र प्राविधिकहरुले निरन्तर काम गर्दै आएका छन् । तमोर जलाशययुक्त आयोजना रणनीतिक महत्वको आयोजना समेत रहेको बताइएको छ । चिनियाँ  राष्ट्रपतिको २०७६ असोज ६ गते नेपाल भ्रमण हुँदा लगानी बोर्डको स्वीकृतिमा नेपाली पक्ष र चिनियाँ पक्षबीचमा सहमति पत्रमा हस्ताक्षर भएको  थियो । नेपालको सरकारी कम्पनी हाइड्रोइलेक्ट्रीसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र चीनको  सरकारी कम्पनी पावर चाइनाको संयुक्त लगानीमा आयोजना निर्माण गर्ने सहमति भएको हो । तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनको संयोजकत्वमा आयोजनाको समग्र पक्षको अध्ययन समेत भएको थियो । लामो समयदेखि चर्चामा रहेका भएपनि नेपालको  राजनैतिक अस्थिरताका कारण प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सम्झौता केपी ओली प्रधानमन्त्री भएको समयमा भएको थियो । प्रधानमन्त्री लगानी बोर्डका अध्यक्ष रहने व्यवस्था छ । तमोर जलासय जलविद्युत आयोजनाको चर्चा विगत केही बर्षदेखि चल्दै आएको भएपनि सम्झौता हुन सकेको थिएन । हुन त नेपालको  सरकारी कम्पनी र चिनियाँ सरकारी कम्पनीबीचमा समझदारी भएको पहिलो जलविद्युत आयोजना नै तमोर जलासय युक्त आयोजना हो । यो आयोजना प्रदेश न. १ को ऊर्जा  सुरक्षाका लागि पनि महत्वपूर्ण हो । यहाँ स्मरणीय कुरा के छ भने आयोजनाका लागि चाहिने करिब डेढ खर्ब ऋणको व्यवस्थापन तथा अन्य कार्य पावर चाइनाले नै गर्ने सम्झौतामा त्यसबेला उल्लेख गरिएको छ । हुन त यतिबेला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने कार्य भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले जनाएको छ । मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आयोजनाको विस्तृत  परियोजना प्रतिवेदन तयार गर्ने काम भइरहेको र प्रतिवेदन तयार भएपछि अन्य कार्यहरु अगाडि बढ्ने छ । तमोर जलासय युक्त विद्युत आयोजना कम क्षतिमा अर्थात् पाँचथर, ताप्लेजुङ, तेह्रथुम र संखुुवासभाका धेरै ठाउँहरुमात्र प्रभावित हुनेछ । यी स्थानका आयोजना स्थलका स्थानीय बासिन्दालाई अत्यन्त कम क्षतिपूर्ति दिनुपर्ने देखिएको मन्त्रालय स्रोतले जनाएको छ । स्रोतका अनुसार तमोर जलासययुक्त आयोजनाको ३८ वर्ग किमीको जलासय बन्ने छ । तेह्रथुम र पाँचथरको लुम्बुघाट भन्दा १.५ किमी तल २०५ मिटर अग्लो बाँध बनाउनुपर्ने हुन्छ । यो बाँध निर्माण गरिए पछि तमार नदीको पानी ३८ किमी मास्तिर फर्कन्छ र ३८.६५ वर्ग किमी क्षेत्रफलका तलाउ निर्माण हुन्छ । आयोजनाबाट ताप्लेजुङ जिल्लाको फूलबारी, निगुरादिन, हाङपाङ, फुङलिङ, दोखु, नाङखोत्याङ्ग, थेचेम्बु, चाक्सीबोटे प्रभावित  हुन्छ । यसैगरी पाँचथर जिल्लाको स्यावरुम्बा, रानी गाउँ, लुम्फुलाङ्ग, नवमी डाँडा, चेकम्जु, नागिन, फिलम, वार्पा, सुभाङ्ग, पञ्चमी, अमरपुर, नागी प्रभावित हुन्छ भने तेह्रथुम जिल्लाका ओख्रे, सुङ्नाम, सोल्मा, म्यालुङ, तम्फुला, जलजले, सिम्ले, थोक्लुङ्ग, चुहान डाडाँ, छातेढुगा, इवा, हवाकु प्रभावित हुनेछन् । विगतको सरकारले प्रदेश १ मा जनताको जलविद्युत आयोजना शुरु गरेको थियो । नेपालको पानी जनताको लगानी नाम दिइएको उक्त आयोजनाहरुमा किमाथांकामा अरुण नदीबाट ४८२ मेघावाट जसको प्रवद्र्धक संस्था विद्युत उत्पादन कम्पनी लिमिटेड, माथिल्लो अरुण ७२५ मेघावाट जसको प्रवद्र्धक संस्था नेपाल विद्युत प्राधिकरण, इखुवा खोला ३० मेघावाट जसको प्रवद्धक संस्था नेपाल विद्युत प्राधिकरण, अरुण चार ३७२ मेघावाट जसको प्रवद्र्धक संंस्था विद्युत विकास विभाग, धुन्सारसिम्बु खोला रहेका थिए । हाल धुन्सा र सिम्बु खोलाको काम मात्र अगाडि बढेका छन् ।

तपाईको प्रतिक्रिया