धरान । आजादीका अमृत महोत्सव अन्तर्गत भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय धरानले पौष २३ गते शनिवार अर्थात जनवरी ७ तारेखका दिन वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
भारत स्वतन्त्र भएको ७५ औं बर्षगाँठ पश्चात भारत सरकारले सन् २०२३ सम्म स्वदेश तथा विदेशमा रहेका आफ्ना कुटनीतिक नियोगहरुमा आजादीका अमृत महोत्सव विविध रचनात्मक कार्यक्रमका साथ मनाउँदै आएको छ । पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाको सक्रियतामा कार्यालयको प्रांगरणमा विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म रक्तदान गर्नेहरु स्वस्फूर्त रुपमा सहभागी भएका थिए । गत बर्ष पनि पेन्सन वितरण कार्यालय धरानले आफ्नै प्रांगरणमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । विगत केही समय यता अन्तर्राष्ट्रिय स्तरको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुदै गएको रगत अभावलाई केही हदसम्म विरामीको उपचारमा सहजता आओस भन्ने हेतुले वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको पेन्सन वितरण कार्यालय धरानका प्रभारी अधिकारी मेजर भरत कनौजियाले बताउनुभयो ।

शनिवार भएको रक्तदान कार्यक्रममा सहभागी हुन प्रदेश १ को सुनसरी, मोरङ, झापा, धनकुटा, उदयपुरमा बसोबास गर्नुहुने भूतपूर्व भारतीय सैनिक, उनीहरुका आश्रित परिवारका सदस्यहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाहरुले पनि सहभागिता जनाउनु भएको थियो । यसैगरी धरानका स्थानीय सर्वसाधारण, पेन्सन वितरण कार्यालय धरानका सम्पूर्ण कर्मचारीहरुले मात्र नभएर धरानका विभिन्न सामाजिक संघ संस्थामा आवद्ध व्यक्तिहरुको समेत रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो । गत बर्षको वृहत रक्तादान कार्यक्रममा २०२ पिन्ट रगत संकलन भएकोमा यसपटक २८३ पिण्ट रगत संकलन भएको थियो । नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाको संयोजकत्वमा भएको उक्त रक्तदानमा जिल्लामा यस बर्ष भएका अन्य रक्तदान कार्यक्रममा भन्दा सबै भन्दा बढी रगत संकलन भएको नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका अध्यक्ष उमेश थापाले बताउनुभयो । पेन्सन वितरण कार्यालय धरानको रक्तदान कार्यक्रमको निमन्त्रणालाई स्वीकार्दै धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत कृष्ण खनाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख प्रा.डा. विक्रम श्रेष्ठ, प्रा.डा राजीव महर्जन, आकस्मिक विभागका प्रमुख प्रा.डा. प्रमिन्द्रप्रसाद गुप्ता, ट्राफिक प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक श्यामकुमार बस्नेत लगायतको पनि रक्तदान कार्यक्रममा सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा सहभागिता जनाउनुहुने सबैमा प्रभारी अधिकारी मेजर भरत कनौजियाले हार्दिक आभार प्रकट गर्नुभएको थियो ।
भूपूहरुप्रति कृतज्ञता र धन्यवाद
यसैबीच भारतीय राजदूतावासको रक्षा विभागका रक्षा सहचरी कर्णेल अमित कुमार शर्माले पेन्सन वितरण कार्यालय धरानले आयोजना गरेको वृहत रक्तदान शिविरमा सहभागिता जनाउनु हुने पूर्व नेपालका आफ्ना सम्पूर्ण भारतीय भूतपूवर्प सैनिक, तिनका आश्रित परिवारप्रति कृतज्ञता जनाउँदै धन्यवाद दिनुभएको छ । रक्षा सहचरी कर्णेलले नेपाल रेडक्रस सोसाइटी सुनसरीका अनुसार आर्थिक २०७९÷०८० मा हालसम्म सुनसरी जिल्लामा आयोजना गरिएको रक्तदान कार्यक्रमध्ये पेन्सन वितरण कार्यालय धरानमा सबैभन्दा बढी रगत संकलन भएकोप्रति खुशी व्यक्त गर्नुभएको छ । रक्तदान कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन र उल्लेखनीय उपलब्धी हासिल गर्नुमा हजुरहरुको अमूल्य साथ र सहयोग दिनुभएकोमा म हृदयदेखि धन्यवादका साथ अगाडि पनि यसरी नै माया र सहयोगको अपेक्षा गर्दछु ।

