धरान । निवर्तमान प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र निजकी अति महत्वकाक्षी पत्नी आरजु राणाको हठका कारण पाँच दलीय गठबन्धन भंग मात्र भएका छैन एमालेको समर्थनमा गठबन्धनको दोस्रो ठूलो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपालको ४४ औं प्रधानमन्त्रीमा आइतबार नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्ति गर्नुभएको हो । दाहाल प्रतिनिधिसभाका २७५ सांसदमध्ये १६९ सासदको समर्थन लिएर राष्ट्रपति भवन शितल निवास पुगेका थिए । हाल दाहाललाई एमालेका ७८, आफ्नो दलको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, जनमत पार्टीका ६, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनता समाजवादी पार्टीका १२, नागरिक उन्मुक्ति पार्टीका ४ र स्वतन्त्र ३ सांसदको समर्थन रहेको छ । नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले दिउँसो सोमबार ४ बजे अपरान्ह पद तथा गोपनियताको सपथ गराउनु भएको थियो । प्रधानमन्त्रीमा प्रचण्डको नियुक्तिसँगै निर्वतमान प्रधानमन्त्री, उनकी पत्नी तथा बालुवाटारमा हैकम जमाएर बसेका आफन्तले सरकारी निवास छोडेका छन् । प्रचण्डसँगको गठबन्धन टुटेपछि नेपाली काँग्रेसले सातै प्रदेशको सरकार, राष्ट्रपति, सभामुख, वैदेशिक कुटनीतिक नियोगका नियुक्तिहरु सबैबाट हात धुने भएको छ ।
