धरान । विगत केही महिनादेखि धरान उपमहानगरपालिकामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर हर्क रा राई साम्पाङले बोलेको शब्दलाई लिएर पटक पटकको कार्यपालिका बैठक बहिष्कार गरेकोप्रति मेयर साम्पाङका समर्थकहरुले धरानको भानुचौकमा प्रदर्शन गरेका छन् ।

साम्पाङका समर्थकहरुले सोमबार धरानको भानुचौकमा स्वतन्त्र नागरिक समाज, धरानको ब्यानरमा ‘धरान उपमहानगरपालिका बचाउ’ ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले कार्यपालिका बैठक सुचारु गर्न माग समेत गरेका थिए । मेयरले गरेका हरेक कामलाई अवरुद्ध गर्ने वडाध्यक्ष तथा कार्यपालिकाका सदस्यहरु स्थानीय शासन सञ्चालन ऐन २०७४ को विरुद्धमा रहेको उनीहरुले बताएका थिए । उनीहरुले व्यानरसहित प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्लेकार्डमा ‘धरानलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन, कार्यपालिका बैठक अवरोध गर्न पाइँदैन, धराने जनताको मत दुरुपयोग गर्न पाइँदैन, अराजक खालका वडा अध्यक्ष धराने जनतालाई चाहिँदैन’ पाँच वर्षलाई जनताले दिएको मत विपरीत जान पाइँदैन जस्ता नारा लेखेर प्रदर्शन गरेका थिए । गत असोज १३ गते बसेको कार्यपालिका बैठकमा सप्तरंगी पार्कको विषयमा भएको विवादपछि वडाध्यक्ष र मेयरको दूरी बढेको थियो । साम्पाङले संप्तरंगी पार्कलाई वहुजातीय साँस्कृतिक पार्क बनाउने योजना अगाडि सारेपछि कार्यपालिका सदस्य अनुप देवानले साविककै सप्तरंगी पार्क बनाउने मत कार्यपालिका बैठकमा राखेपछि मेयर साम्पाङले ‘निस्केर जानुस्’भन्ने शब्द बोलेको वडाध्यक्षहरुको भनाई छ । मेयरले बोलेको शब्दप्रति माफी माग्नुपर्ने अडान वडाध्यक्षहरुको रहेको छ भने मेयर साम्पाङले आफूले गल्ति नै नगरेकोले माफी नमाग्ने अडान राखेपछि विवाद झन झन चुलिदै गएको छ ।
